ज्योतिको जिउमा टिकेन ज्याकेट



हेटौंडा, (नेस)। दिउँसोको पारिलो घाममा ज्याकेट लाएर स्टेजमा देखा परेकी गायिका तथा मोडल ज्योति मगरको जिउमा ज्याकेट धेरै बेर टिक्न सकेन। स्टेजमै ज्याकेट खोलेपछिचाहिँ दर्शकदीर्घातिरको माहोल झनै तातियो।

मोडल मगरलाई तेस्रो मनहरी महोत्सवको क्रममा आइतबार स्टेजमा प्रस्तुत गरिएको थियो। उचाइअनुसारको मोटाइ मिलेको जिउ, त्यसैमाथि अर्धनग्नझंै ड्रेसअपका कारण पनि उनी दर्शकको आकर्षण बनेकी थिइन्। त्यसमाथि उनले बोल्ने हरेक शब्दहरु द्विअर्थी थिए। अधिकांश शब्दहरु टीनएजर्स केन्द्रित थिए। जुन प्रेम र यौवनसँग जोडिएका हुन्थे।

उनी महोत्सवमा आउने खबरसँगै महोत्सवमा देखिएको भीड देखेर आयोजक नै दंग परे। उनको प्रस्तुतिका क्रममा देखिएको भीड थाम्न आयोजकलाई हम्मेहम्मे परेको थियो। त्यसका लागि सुरक्षाकर्मी नै परिचालन गर्नुपरेको थियो। उनले आफ्ना चर्चित गीतहरु चोरी खान पल्केको ढाडे बिरालो, उही मुलाको सिन्की उही मुलाको चाना, चर्चित दोहोरी गीत चानचुने त कहाँ हो र जिमवाल बाउकी छोरी, अँध्यारोमा लाको माया काली छौ कि गोरीलगायतका गीतहरु गाएकी थिइन्। उनको प्रस्तुति अवधिभर दर्शकको भीड महोत्सवको स्टेजमा रहिरह्यो।

ज्योतिसँगै आइतबार चर्चित गायक यम बराल प्रस्तुत भए। उनले आफ्नो चर्चित गीत निष्ठुरीले छाडेर गइहाली हेर्दाहेर्दै अर्कैकी भइहाली गाउँदा दर्शकले साथ दिएका थिए। गायक हेमन्त शर्माको प्रस्तुतिले पनि दर्शकलाई मनोरञ्जन दिएको थियो। गायिका जुना प्रसाईं र संगीतकार एवम् गायक गणेश पराजुलीको प्रस्तुति पनि दमदार थियो।

महोत्सवमा शारीरिकरूपमा अशक्त कलाकार लालबहादुर तामाङले जादु तथा नृत्य प्रस्तुत गरेका थिए भने गायिका लक्ष्मी तामाङले गीत गाएकी थिइन्। नृत्यांगना अनु रानासहित आस्था कला केन्द्रको टोलीले नृत्य प्रस्तुत गरेको थियो।

छिमेकी देश भारतका प्रधानमन्त्री नरेन्द्र मोदी झैं बनेर लोकप्रिय हाँस्यकलाकार मनोज गजुरलेले पनि तेस्रो मनहरी महोत्सवमा धमाका मच्चाए। महोत्सवमा निम्ता गरिएका नक्कली मोदीलाई हेर्न दर्शकको भीड लागेको थियो। भीड थाम्न आयोजकलाई हम्मेहम्मे परेको थियो। गजुरेलले नेपाललाई भारतले हेपेको भन्दै व्यंग्यात्मक प्रस्तुति दिएका थिए। उनले नेपाललाई गरिएको व्यवहारप्रति माफी माग्दा दर्शकले ताली बजाएका थिए।

त्यसअघि शनिबार गायक पशुपति शर्माले पनि नेपाली लोक तथा दोहोरी गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए। उनले विभिन्न चर्चित गीत गाएका थिए। उनले मलाई अमेरिका नि यही, सिंगापुर नि यही गाएर दर्शक लोभ्याएका थिए। उनले गीत गाउँदा दर्शकहरु छमछमी नाचेका थिए। सहिमा श्रेष्ठले पनि लोक तथा आधुनिक गीत प्रस्तुत गरेर दर्शकलाई मनोरञ्जन दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्