फिल्मलाई उद्योगमा राख्न माग



नेपाल चलचित्र निर्माता संघका नव निर्वाचित पदाधिकारीहरुले सरकारसमक्ष फिल्म क्षेत्रलाई उद्योगको मान्यता दिन माग गरेका छन्। पदाधिकारीहरुले उद्योगमन्त्री नविन्द्रराज जोशीलाई भेटी नेपाली फिल्म क्षेत्रलाई सूचना तथा सञ्चार प्रविधिमा आधारित उद्योगमा राख्न आग्रह गरेका हुन्।

संघका अध्यक्ष आकाश अधिकारीको नेतृत्वमा गएको संघको टोलीले मंगलबार उद्योगमन्त्री जोशीलाई भेटी यस्तो आग्रह गरेको हो। नेपाली फिल्मलाई हालसम्म सरकारले सेवामूलक उद्योगअन्तर्गत राख्दै आएको छ।

अध्यक्ष आकाश अधिकारीले मन्त्री जोशीलाई नेपाली फिल्मको वर्तमान अवस्थाबारे जानकारी गराउँदै फिल्म उद्योगलाई राष्ट्रिय प्राथमिकताको उद्योगमा समावेश गर्न आग्रह गरे। भेटमा मन्त्री जोशीले फिल्म क्षेत्रको समस्या समाधानका लागि आफू सकारात्मक रहेको उल्लेख गर्दै सूचना तथा सञ्चार प्राधिकरणले ल्याउन लागेको नयाँ ऐनमा सूचना उद्योगअन्तर्गत गरिने काम निजीरूपमा गर्न नमिल्ने व्यवस्था गर्न लागेको जानकारी गराउँदै छलफल गरेर मात्र निष्कर्षमा पुग्न आग्रह गरे।

संघका अध्यक्ष आकाश अधिकारीले सूचना मन्त्रालयसँग बनिरहेको ऐनका सम्बन्धमा छलफल गरेर मात्र फिल्म उद्योगलाई कुन विधामा राख्ने भन्ने बारेमा निर्णय गरिने बताए। ‘हामी त्यहाँ बन्न लागेको ऐनको अध्ययन गरेर फेरि मन्त्रीसँग भेट्छौं’ उनले भने। मागपत्र पेश गर्नका लागि अध्यक्ष अधिकारीसँगै उपाध्यक्ष गोविन्द शाही, सदस्यहरु निकिता पौडेल, अर्जुन कुमार, भानुप्रताप, रौनकविक्रम कँडेल मन्त्रालय गएका थिए। अधिकारीले चाँडै नै सञ्चारमन्त्रीलाई पनि भेटेर बक्स अफिस र फिल्म नीतिका सम्बन्धमा पनि दबाब दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्