शरणले फेरि ल्याए बटुवा


संगीतकार तथा गीतकार शरण छिनाम ८ वर्षको अन्तरालपछि बटुवा–२ नामक एल्बम लिएर दर्शक स्रोतामाझ आएका छन्। स्टुडियो पर्पलले हालै बजारमा ल्याएको एल्बममा पाँच गीत सुन्न सकिने संगीतकार छिनामले जानकारी गराए।

एल्बममा संग्रहित मगमग बास्ना छरी, ढुंगे साँघु तरी जाने, प्रीतिको फूल, रूप चोर्नु जुनको भन्छन् र तिम्र्रो तस्वीर सिरानीमा बोलको गीतमा क्रमशः राजेशपायल राई, कुन्ती मोक्तान, निखिता थापा, अन्जु पन्त र निखिताकै स्वर समेटिएको छ। तीन गीतमा आफ्नै र अन्य दुई गीतमा श्रीपुरुष ढकाल र प्रकाश धमलाको शब्द रचना समेटिएको छ।

यसअघि बटुवा र संगालेर आएँ बोलका दुई एल्बम निकालेका छिनामले राम्रो सिर्जना समेट्ने प्रयास गर्दा लामो समय लागेको दाबी गरे। ‘पहिले त म आफ्नो गाउँ पाँचथरको लिम्बा गाविसमै बस्छु। सानोतिनो व्यवसाय गर्छुु’, उनी भन्छन्– ‘त्यसैले व्यस्त रहन्छु र समय निकालेर एल्बम निकाल्छु। यो मेरो सोखको विषय हो। संगीतबाट टाढा रहनै सक्दिनँ। तर, म व्यावसायिक संगीतकार होइन, त्यो तरिकाले अघि बढ्दा राम्रो गीत–संगीत सिर्जना पनि हुँदैन।’

बटुवा एल्बमको बाटो हिँड्ने बटुवाको बाटै प्यारो साथी बोलको गीतले उनलाई सांगीतिक क्षेत्रमा चिनाएको थियो। यही गीतबाट उनले संगीत र शब्द दुवैतर्फ २०६५ सालमा हिट्स एफएम म्युजिक अवार्डसमेत चुमेका थिए। विगतमा स्लो सेन्टिमेन्टल गीतलाई प्राथमिकतामा दिएको उल्लेख गर्दै उनले यसपटक फास्ट बिटका गीतलाई एल्बममा समेटेको बताए। ‘अहिले बढी दर्शक स्रोताको रोजाइमा फास्ट बिटका गीत परेका छन्। त्यही भएर मैले आफूलाई समयसापेक्ष ढंगले अघि बढाउन खोजेको छुुु’ –उनले भने।

Skip This