डस्टबिनमा अवज्ञा



सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्न निर्देशन दिइए पनि अधिकांशले पालना नगरेको पाइएको छ।

ईश्वरराज ढकाल, काठमाडौं
सार्वजनिक सवारीसाधनमा डस्टबिन राख्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको करिब डेढ महिनापछि स्थानीय निकायहरूले अनुगमन शुरू गरेका छन्। अनुगमनका क्रममा नगन्य मात्राका सार्वजनिक सवारीसाधनले मात्रै डस्टबिन राखेको फेला परेको छ।

अधिकांश सवारीसाधनमा अनिवार्य रूपमा डस्टबिन राख्नुपर्ने व्यवस्थालाई अटेर गर्ने लामो र छोटो रुटको सवारीसाधनलाई कारबाही गर्न स्थानीय विकास मन्त्रालयले कडा निर्देशन दिएपछि काठमाडौं महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको हो। अनुगमनका क्रममा करिब आधा दर्जन बस व्यवसायीले सवारीसाधनमा डस्टबिन राखेको पाइएको छ।

कामपा वातावरण व्यवस्थापन विभागले काठमाडौंको नयाँ बसपार्क, टुँडिखेलस्थित बसपार्क, आरएनएसी र शहीदगेटमा अनुगमन थालेको हो। हालसम्म १ सय ८ वटा यातायातका साधनमा अनुगमन सम्पन्न गरेको जानकारी गराउँदै विभागका प्रमुख रविनमान श्रेष्ठले डस्टबिन नराख्ने सवारीसाधनलाई तत्काल डस्टबिन राख्न निर्देशन दिएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हामीले लामो र छोटो रुटको बसमा निगरानी बढाएका छौं, अब दोस्रोपटक पनि गल्ती गर्ने सवारीसाधनमाथि कारबाही गर्नेछौं।’ अनुगमनका क्रममा बालाजु, बूढानीलकण्ठ, सुन्दरीजल र लगनखेलबाट कीर्तिपुर रुटमा सञ्चालन भएका सवारीसाधनले डस्टबिन राखेको भेटिएको छ। त्यस्तै लामो रुटअन्तर्गत धवलागिरि यातायात व्यवसायी संघ, दक्षिणकाली, पृथ्वी राजमार्ग समिति र मेची यातायात व्यवसायी समितिले डस्टबिन राखेका छन्। विभागका इन्जिनियर रवीन्द्रकुमार राई र वरिष्ठ अधिकृत गंगाधर गौतमसहितको १० जनाको टोलीले अनुगमन गरेको हो। अनुगममन गर्दा चालकलाई एकपटकका लागि चेतावनी दिएर छाड्ने गरिएको छ।

अब कोटेश्वर र चावहिलबाट पनि अनुगमन शुरू गरिने श्रेष्ठले जानकारी दिनुभयो। ‘अनुगमन गर्ने कार्यलाई निरन्तरता दिनेछौं, पहिलो चरणको अनुगमन सकेपछि दोस्रो चरणमा कारबाही गर्नेछौं’ –उहाँले भन्नुभयो। भक्तपुर मिनीबस, मध्यपुर मिनीबस, संयुक्त यातायात, काँडाघारी, गोठाटार, मच्छेगाउँ, मातातीर्थ, लगनखेल, नुवाकोटलगायतका अधकांश बस व्यवसायीले डस्टबिन नराखेको अनुगमन टोलीले फेला पारेको छ। सरकारले देशभरका स्थानीय निकायलाई पत्राचार गरी लामो र छोटो रुटमा सञ्चालन हुने सवारीसाधनमा अनिवार्यरूपमा डस्टबिन राख्नुपर्ने व्यवस्था गरेको थियो। नयाँ बसपार्कबाट छुट्ने केही सवारीसाधनले मात्रै डस्टबिन राख्न थालेको भेटिएको छ।

कामपाले सवारीसाधनभित्रको डस्टबिनमा थुपारिएको फोहोर व्यवस्थापन गर्न नयाँ बसपार्क, टुँडिखेलस्थित बसपार्क, आरएनएसी र शहीदगेटमा डस्टबिनको व्यवस्था गरेको छ। स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले अनिवार्य रूपमा सार्वजनिक सवारीसाधनभित्र डस्टबिन नराख्नेमाथि तत्काल कारबाही गर्न सबै स्थानीय निकायलाई निर्देशन दिइसकेको जानकारी दिँदै भन्नुभयो– ‘हामीले निर्देशन दिइसकेका छौं, यदि स्थानीय निकायले कार्यान्वयन नगरे कारबाही गर्नेछौं।’ उहाँले डस्टबिन नराख्नेले जोकोहीलाई ५ सय रुपियाँ जरिवाना गर्न निर्देशन दिइएको उल्लेख गर्नुभयो।

यसैगरी धुलाम्य भएको राजधानीको धुलो व्यवस्थापन गर्न कामपाले दुईवटा बु्रमर खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। फोहोर व्यवस्थापनसँगै धुलो नियन्त्रण गर्न ब्रुमर खरिद गर्न लागिएको कामपाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्