आईजीपीबारे कांग्रेसमा विवाद



दीपक रिजाल, काठमाडौं
आगामी फागुन २ गतेबाट नेपाल प्रहरीको नेतृत्व परिर्वतन हुने भएपछि नयाँ नेतृत्वमा कसलाई ल्याउने भन्ने विषयमा नेपाली कांग्रेसभित्र तीव्र विवाद शुरू भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै पनि निर्णय गर्दा आफू विवादमा नपर्ने जानकारी सत्ता साझेदार दल नेपाली कांग्रेसका शीर्ष नेताहरूलाई गराएको भए पनि कांग्रेसभित्र भने नयाँ प्रहरी प्रमुख बनाउने विषयमा विवादले उग्ररूप लिएको छ।

नेपाली कांग्रेसका प्रभावशाली मन्त्री रमेश लेखक, सांसद कर्ण मल्ल र सुदूरपश्चिमका कांग्रेस नेताहरूले आफ्नो अनुकूलका डीआईजी जयबहादुर चन्दलाई जुनसुकै हालतमा प्रहरी प्रमुख बनाउनुपर्ने लबिङ गरेपछि विवादले उग्ररूप लिएको छ।

बिहीबार शीर्ष नेतासहितका केही उच्च नेताहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा मन्त्री लेखकसहितको टोलीले चन्दलाई आईजीपी बनाउनुपर्ने जिकिर गरेको थियो। बैठकमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले आफूले विधि र प्रक्रियालाई मिचेर कुनै हालतमा पनि नयाँ प्रहरी प्रमुख बनाउन नसक्ने अडान लिएपछि बैठकमा तीव्र विवाद भएको बैठकमा सहभागी एक सांसदले नेपाल समाचारपत्रलाई जानकारी दिए।

नेपाल प्रहरीका हालका प्रमुख उपेन्द्रकान्त अर्यालले आगामी फागुन २ बाट अनिर्वाय अवकाश पाउने भएपछि हालका डीआईजीमध्येबाट सरकारले प्रहरी प्रमुख नियुक्त गर्नुपर्ने बाध्यता रहेको छ। आईजीपी अर्यालसहित सबै एआईजीहरूले एकैदिनमा अवकाश पाउने भएपछि सरकारले हालका डीआईजीमध्येबाट आईजीपी बनाउनुपर्ने बाध्यता उत्पन्न भएको हो।

आईजीपीका लागि डीआईजीहरू एक नम्बरमा नवराज सिलवाल, दुई नम्बरमा प्रकाश अर्याल, तीन नम्बरमा चन्द र चौथो नम्बरमा बमबहादुर भण्डारी रहनुभएको छ। गृहमन्त्री निधिले विधि र प्रक्रियाभन्दा बाहिर गएर कसैलाई पनि प्रहरीको प्रमुख बनाउन नसक्ने बताएपछि पार्टी सभापति शेरबहादुर देउवाले पश्चिमका साथीहरूको भावनालाई बुझ्नुपर्ने बताउनुभएको थियो। यद्यपि यसै गर्ने भनेर कांग्रेसले निर्णय भने नगरेको बताइएको छ।

नेपाली कांग्रेसका युवा नेता तथा सांसद रामहरि खतिवडाले कुनै पनि संगठनको चेन अफ कमान्ड बिगार्ने गरी निर्णय गर्न नहुने बताउनुभयो।

कांग्रेसमा गृहमन्त्री र अन्य नेताहरूको राय बाझेका कारण मन्त्रीमण्डलमा नै हेरफेरको सम्भावनासमेत रहेको स्रोतले बताएको छ।

बिहीबारको बैठकमा सहभागी हुनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेल चुप लागेर बसेका कारण नयाँ प्रहरी प्रमुखमा पार्टीका तर्फबाट कसलाई बनाउने भन्ने विषयमा निर्णय हुन नसकेको पनि ती सांसदले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्