हतकडी नलाई सीकेलाई माया



तस्वीर आफैं बोल्छः जिल्ला अदालत सिरहामा सीके राउतलाई राज्यविरुद्धको संगठित अपराध मुद्दामा अनुसन्धानका लागि १० दिनको म्याद थप गराउँदै इलाका प्रहरी कार्यालय लहानका प्रहरी प्रमुख राजकुमार केसी । तस्वीरः नेस

फिरोज सिद्दिकी, सिरहा
स्वतन्त्र मधेस गठबन्धनका संयोजक डा. सीके राउतलाई सिरहा प्रहरीले राज्यविरुद्धको संगठित अपराध मुद्दा चलाएको छ। देश विखण्डन गर्ने अभिव्यक्ति दिँदै आएका र विभिन्न योजनाहरू बनाएको आरोपमा पक्राउ परेका राउतलाई सिरहा जिल्ला अदालतबाट १० दिनको म्याद थप गराई राज्यविरुद्धको संगठित अपराध मुद्दामा कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

राउतमाथि राज्यविरुद्धको संगठित अपराध मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो। सिरहा प्रहरीको आग्रहमा बिहीबार धनुषा प्रहरीले जनकपुरको पुरानो बसपार्क नजिकैको डेराबाट राउतलाई पक्राउ गरी सिरहाको लहान ल्याएको थियो।

गत माघ ५ गते बलिदानी दिवसको अवसरमा लहानस्थित पशुपति आदर्श माविको खुल्ला मैदानमा आयोजित बलिदानी सभामा देश टुक्रइउने र छुट्टै मधेस देश बनाउने अभिव्यक्ति दिएकाले राज्यविरुद्ध संगठित अपराधअन्तर्गत मुद्दा चलाएको प्रहरी नायब उपरीक्षक केसीले बताउनुभयो।

सप्तरीको महदेवा गाविस स्थायी घर भएका राउत जनकपुरमा कोठा भाडामा लिएर बस्दै आएका थिए। यता सिरहाको लहानमा बिहानैदेखि राउतका समर्थक कार्यकर्ताहरूले रिहाइको माग गर्दै प्रदर्शन गर्न थालेपछि २१ जना समर्थक कार्यकर्ताहरूलाई इलाका प्रहरी कार्यालय लहानले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अधिकांश युवाहरू रहेका छन्।

राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लवको मुद्दा चलेको थियो। तर धरौटीमा छुटेका थिए। राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद वा १० वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था रहेको छ। देश विखण्डनको कार्यमा अग्रसर उनलाई प्रहरीले हतकडी नलाई माया गरेको तस्वीरमा देखिएको छ। यसरी पक्राउ गरिएका व्यक्तिलाई अक्सर हतकडी लगाउने गरिन्छ। उनलाई बिहीबार दिउँसो ३ बजेतिर पक्राउ गरिएको भए पनि उनको समर्थनमा प्रदर्शन गरिएको भन्दै सीकेले शुक्रबार पनि ट्वीटरमा फोटो हालेको पाइएको छ। जब कि थुनामा रहेको व्यक्तिलाई सामाजिक सञ्जाल चलाउने अनुमति हुँदैन।

प्रतिक्रिया दिनुहोस्