द्वन्द्वमा ध्वस्त प्रहरी चौकीको पुनर्निर्माण



नेपाल समाचारपत्र
पर्वत
सशस्त्र द्वन्द्वको समयमा तत्कालीन नेकपा माओवादीले दुईपटकसम्म ध्वस्त बनाएको पर्वतको कार्किनेटामा प्रहरी चौकी पुनर्निर्माण गरिएको छ। सशस्त्र द्वन्द्वको समयमा २०५७ सालमा दुईपटकसम्म स्थानीयले बनाइदिएको चौकी माओवादीले ध्वस्त बनाएपछि १७ वर्षपछि पुनर्निर्माण गरिएको हो।

शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा निर्मित भवनको शुक्रबार पश्चिमाञ्चल क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक कमलसिंह बमले उद्घाटन गर्नुभयो। स्थानीयले २०५७ मा हटियामा बनाएको चौकी माओवादीले ध्वस्त बनाएपछि फेरि स्थानीयले सोही वर्ष बनाइदिएका थिए।

कार्किनेटा, थापाठाना र शंकरपोखरी गाविसका नागरिकलाई सेवा दिँदै आएको प्रहरी चौकीको अत्याधुनिक भवन निर्माण सम्पन्न भएको छ। करिब ८४ लाख रुपियाँको लागतमा निर्मित भवनभित्र कार्यालय प्रमुखको निवास, हिरासत, महिला तथा पुरुष ब्यारेक, किचन, डाइनिङ, प्रशासन, सञ्चार कक्षलगायतका कोठाहरूको व्यवस्थापन गरिएको छ। दुई तले पक्की भवन झन्डै ४ वर्षमा निर्माण सम्पन्न भएको हो।

भवन उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक बमले सुरक्षा निकायलाई दैनिक कार्य सम्पादनमा भौतिक पूर्वाधारसमेत सुविधा सम्पन्न हुनुपर्ने बताउनुभयो।
उहाँले आम नागरिकको सुरक्षाका लागि सक्रिय भएर लाग्न सुरक्षाकर्मीहरूलाई पनि निर्देशन दिनुभएको छ।

‘ग्रामीण क्षेत्रमा पनि विभिन्न खालका अपराधिक मनोवृत्ति भएका समुदाय छन् तिनीहरूकै कारण पछिल्ला समय समाजमा विखण्डन पैदा भइरहेको छ, यस्तालाई पहिचान गरी कारबाही गर्नुहोस्।’ –उहाँले भन्नुभयो।

शान्ति सुरक्षा कायम गर्ने विषयमा जिरो टोलरेन्समा काम गर्न सुरक्षा प्रहरीलाई निर्देशन दिनुभएको छ।

मुलुकमा राजनीतिक परिवर्तन भइरहने बताउँदै आम नागरिकको सुरक्षाप्रति गम्भीर हुन पनि उहाँले आग्रह गर्नुभएको छ।

उहाँले प्रहरी पनि समाजकै अङ्ग भएकाले स्थानीयबासीहरू पनि हातेमालो गरेर अघि बढ्न आग्रह गर्नुभएको छ।

सो अवसरमा स्थानीयबासीहरूले उक्त प्रहरी चौकीलाई स्तरवृद्धि गरी इलाकास्तरीय प्रहरी कार्यालय बनाउन माग गरेका छन्। कार्यक्रममा पर्वतका प्रहरी नायब उपरीक्षक शेखर खनालले ग्रामीण क्षेत्रका नागरिकलाई सुरक्षा दिनका लागि स्थापित प्रहरी चौकी सम्पन्न गर्नका लागि सहयोग गर्ने सबै निकायलाई धन्यवाद व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रहरी निरीक्षक अनिल रानाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने धन्यवाद मन्तव्य अञ्चल प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले दिनुभएको थियो।

कार्यक्रममा नेकपा एमाले पर्वतका सचिव पदमपाणि शर्मा, निर्माण समितिका विष्णुप्राद पाध्यालगायतले बोल्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्