ट्यालेन्ट शोमा सुन्दरीहरू



राजधानीमा हुन लागेको १२औं मिस नेवाः ११३७ का प्रतियोगीले बुधबार राजधानीमा ट्यालेन्ट शोअन्तर्गत आफूमा अन्तरनिहित विभिन्न कला प्रस्तुत गरे।

नेप्लिज फेसन होमद्वारा आयोजना हुन लागेको प्रतियोगितामा अधिकांश प्रतियोगी नेवार सुन्दरीले नृत्य प्रस्तुत गरेका थिए। शोमा स्नेहा महर्जन, मेरिना मानन्धर, गंगा देउला, ओमिजिना महर्जन, शिला प्रजापति, सलिना श्रेष्ठ, सविना खड्गी, रोमानी महर्जन, सुमन श्रेष्ठ, रोज महर्जन, मुना केसी, इसु श्रेष्ठ, समिता श्रेष्ठ, मोनिमा खड्गी, जुनु त्वयनाले नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए।

त्यसै गरी कृजना डंगोलले तेक्वान्दोका विभिन्न काता प्रस्तुत गरिन् भन् भने आकृति महर्जनले हस्तकलाको सीप देखाइन्। यस्तै विभिन्न विषयमा प्रतिसरा नापित, रोशना श्रेष्ठ, आजेस्वी श्रेष्ठ र लेनिना वज्राचार्यले आफ्ना वक्तृत्वकला प्रस्तुत गरेका थिए।

गायनतर्फ पल्पसा श्रेष्ठ र सृष्टि खड्गीले नेवारी गीत गाएका थिए भने आज्ञा कारञ्जितले अभिनय प्रस्तुत गरेकी थिइन्। ट्यालेन्ट शोमा निर्णायकमा सञ्चारकर्मी भरत शाक्य, गायिका निशा देशार, कार्टुनिस्ट रविन सायमी, नृत्य निर्देशक रिना महर्जन र भैरव नृत्यकार अमरज्योति रञ्जित थिए।

प्रतियोगिताको अन्तिम स्पर्धा आगामी २६ माघमा राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्