मनहरी महोत्सवमा संगीतको बहार

0
Shares

हेटौंडा, (नेस)। माघ १६ गतेदेखि मनहरी–४, बेलुवास्थित मनहरी खोला किनारमा जारी तेस्रो मनहरी महोत्सवमा दर्शकको ओइरो लागेको छ।

ल्होसार विशेष कार्यक्रमका रूपमा बुधबार दिनभर तामाङहरूकै अगुवाइमा कार्यक्रम सञ्चालन भएको थियो। संस्थागत रूपमै नेपाल तामाङ घेदुङ ४ नं क्षेत्रीय कमिटीले सञ्चालन गरेको तामाङ विशेष सांस्कृतिक कार्यक्रममा अवलोकनकर्ताको भीड देखिएको हो। महोत्सव सञ्चालन भएको चौथो दिन देखिएको भीडपछि आयोजक थप उत्साहित भएका छन्।

त्यस अवसरमा घेदुङले ७५ जना तामाङलाई सम्मानित गरेको थियो। सम्मान पाउनेहरूमा गायकहरू⁄गायिका, खलनायक, फिल्म निर्देशक, उद्घोषकलगायत छन्। उनीहरूलाई पूर्वसभासद् कुमारी मोक्तान तथा सांसद् राजाराम स्याङ्तानलगायतले सम्मानपत्र प्रदान गरेका थिए। विशेष सांस्कृतिक कार्यक्रममा चर्चित सेलो गायक विश्व दोङले मञ्च तताएका थिए। उनले विभिन्न सेलो तथा नेपाली भाषाका गीतहरू गाउँदा युवा पुस्ता तथा तन्नेरीहरू सँगसँगै नाचिरहेका देखिन्थे। अर्का गायक अविराम मोक्तानले तामाङ तथा नेपाली भाषामा गीत गाउँदा दर्शक उत्तिकै झुम्मिएर नाचेका थिए। गायक सुन्दर लामाको दमदार प्रस्तुतिले पनि दर्शक सन्तुष्ट देखिएका थिए। कार्यक्रममा तामाङ भाषामा नृत्य प्रस्तुत भएको थियो।

महोत्सवमा लोक तथा दोहोरी गायक नवराज घोरासैनी, माण्डवी त्रिपाठी, केशव सापकोटा र सुस्मिताको जोडी तथा मञ्जु गौतम आउने भएका छन्। महोत्सवमा हास्य टेलिशृंखला भद्रगोलका कुमार कट्टेल जिग्री, अर्जुन घिमिरे पाँडे र सागर लम्साल बले, लोकदोहोरी क्षेत्रका चर्चित गायक पुरुषोत्तम न्यौपाने र शान्ता परियारले मनोरञ्जन दिने आयोजकले जनाएका छन्। त्यसै लगरी हास्य कलाकार मनोज गजुरेल र लोकगायक पशुपति शर्मा र सहिमा श्रेष्ठले पनि मञ्च तताउनेछन्। माघ २३ गते हेमन्त शर्मा र ज्योति मगर, २४ गते सुगम पोखरेल, २५ गते शिव परियार र २६ गते प्रमोद खरेलले मनोरञ्जन दिलाउने मूल आयोजक समितिका संयोजक गोविन्द रिजालले जानकारी गराए।

Skip This