आमाको नामबाट नागरिकता अदालत आदेश गर्छ, प्रशासन रोक्छ



कुमार श्रेष्ठ, बाँके
केमा आधा दर्जनलाई आमाको नामबाट नागरिकता दिनका लागि अदालतले आदेश गरे पनि जिल्ला प्रशासन कार्यालयले रोकेको छ।

संविधानको नागरिकता, भाग २ धारा १२ मा बाबु वा आमाको नामबाट नागरिकता दिन सकिने उल्लेख गरेको छ। सर्वोच्च अदालतले पनि त्यसमा आदेश गरिसकेको छ। जिल्ला प्रशासन कार्यालय, बाँकेले भने नागरिकतासम्बन्धी ऐन कानुन नबनेको जनाउँदै त्यसरी नागरिकता दिएको छैन।

बाँकेका शिवानी सिंह, दीक्षा सिंह, गणेश सुनार, श्वेता श्रीवास्तव र अर्जुन खटिक आमाको नामबाट नागरिकता पाउनका लागि अदालत पुगेका थिए। सबैजसोको हकमा अदालतले ‘प्रचलित कानुनको अधीनमा रही निजलाई जे जुन प्रकृतिको नागरिकता प्राप्त हुनेछ। वा, कुन प्रकारको नागरिकता पाउने हो, सो नागरिकताको प्रमाणपत्र उपलब्ध गराउनु भन्ने परमादेश आदेश जारी गरेको छ।

आमा नेपाली नागरिक रहेको र बाबु सम्पर्कमा नरहेकाहरू आमाको नामबाट नागरिकताका लागि अदालतको ढोकामा पुगेका हुन्। यी सबैको मुद्दा हेरेका अधिवक्ताद्वय सुनिल श्रेष्ठ र लोकबहादुर शाहले संविधानले ग्यारेन्टी गरेको र अदालतले आदेश गरिसकेपछि जिल्ला प्रशासन कार्यालयले आमाको नामबाट नागरिकता दिनुपर्ने बताउनुभयो।

बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले बाबुको राष्ट्रियता नखुलेकालाई वंशजका आधारमा नागरिकता दिन नसकिने बताउनुभयो। ‘नयाँ कानुन बनेको छैन। नागरिकता ऐन २०६३ अनुसार अहिले हामीले नागरिकता दिइरहेका छौं। यो ऐनको दफा ३ उपदफा २ मा आमाको नामबाट नागरिकता दिने सकिने तर बाबुको राष्ट्रियता हेर्ने भनेको छ’ –उहाँले बाबुको राष्ट्रियता पत्ता नलागे पनि आमाको नामबाट अंगीकृत नागरिकता दिन सकिने बताउनुभयो। अदालत पुगेकाहरूले वंशजकै नागरिकता माग गरेका छन्। ‘आमा नेपाली नागरिक हुन् भन्ने देखिएको छ। नेपाली नागरिकबाट जन्मेकोको बच्चालाई वंशजकै नागरिकता पाउनुपर्छ’ –अधिवक्ता शाहले भन्नुभयो।

अदालतले उल्लेखित सबैको हकमा नाम नै किटेर नागरिकता दिनु भनेको छैन। यसअघि बाँकेकै वर्षा शर्माको मुद्दामा अदालतले नामै किटेर आदेश गरेपछि जिल्ला प्रशासन कार्यालय, बाँकेले आमाको नामबाट नागरिकता दिएको थियो। अदालतको आदेशबाट बाँकेमा आमाको नामबाट नागरिकता बनेको यो एक्लो हो।
अदालतबाट आदेश भएकाहरू पुनः प्रशासन पुगेका छन्। प्रशासनले अहिले उनीहरूको फाइल अध्ययन गरिरहेको छ। बाबु सम्पर्कमा नरहेकाले आमा नेपाली भए पनि नयाँ कानुन नबन्दासम्म प्रशासनले सजिलै नागरिकता दिने लक्षण देखाएको छैन। प्रशासकीय अधिकृत खगेन्द्र पौडेलले बाबुको राष्ट्रियता नखुलेकालाई आमाको नामबाट वंशजको नागरिकता दिन गाह्रो हुने बताउनुभयो। स्पष्ट कानुनको अभावमा अदालत र प्रशासनको दोहोरो कुराले निवेदकहरू भने झन् पीडित भएका छन्।

प्रतिक्रिया दिनुहोस्