काभ्रेस्थलीमा काखमा बसाउने रहर



राजधानीस्थित नजिकैको धर्मस्थली हुँदै काभ्रेस्थली पुग्दा हालैको दिन सांगीतिक माहौल भेटियो।
आउ न कान्छी बस काखैमा
जुनजस्तो मुहार झलझली आँखैमा।
पुरुष स्वरको यो गीत गुञ्जना साथ महिला स्वर थपियो
माया त छ नि कान्छा सानुकै
छ भने भागेर जानु कसरी खै ⁄
गायक पवन राना मगर र गायिका सीता थापा मगरको स्वरमा सजिएको यो गीतमाथि बनिरहेको म्युजिक भिडियोका कारण काभ्रेस्थली नै संगीतमय बनिरहेको थियो। म्युजिक भिडियो निर्देशक मनाङ गुरुङको एक्सन र कटसँगै सुटिङ कार्यअगाडि बढ्दै जाँदा भीडभाड पनि उसै गरी बढिरहेको थियो। दिवान किनारको शब्द र एरेन्जमेन्ट रहेको गीतको म्युजिक भिडियोका लागि सविता राना मगरका साथमा गायिका सुनीता गुरुङ तथा गायकगायिकाहरु शिशिर गुरुङ, दिवान गुरुङ, लीला गुरुङ, नमिता तामाङलगायतले नृत्य र अभिनय गरिरहेका थिए। खेम थापाले छायांकन गरेको म्युजिक भिडियो निर्भाना टिभी नेपालले निर्मँण गरेको हो।
संगीतमा घायल
नवगायक विकास संगम राईले बुधबार राजधानीमा आयोजित एक समारोहबीच घायल चरी नामक एल्बम सार्वजनिक गरेका छन्। बाम्राङ सेवा समाजद्वारा आयोजित कार्यक्रममा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव तथा संगीतकार र गायक गणेश रसिक, गीतकार तथा कवि भूपाल राई र समाजका अध्यक्ष देवान राईले एल्बम सार्वजनिक गरेका थिए।

कार्यक्रममा प्रतिष्ठानका सदस्य–सचिव रसिकले संगीतबिना मान्छेको जीवन अधुरो रहने चर्चा गर्दै आफू संगीत क्षेत्रमा नलागेको भए हालसम्म जीवित नरहने बताए। सानै उमेरदेखि राजेशपायल राई र रामकृष्ण ढकालका गीत गुनगुनाएर हुर्किएका खोटाङका बाम्राङका विकासले प्लस टुसम्मको अध्ययन गरेका छन्। उनको एल्बममा घायल चरी, माया नमार, नत्थीवाली, म मरेमा, ए मेरी आमा बोलका गीत संगृहित छन्। गीतमा गायक विकाससँगै पुष्पराज बस्याल, जीएस स्मृतको शब्द छ भने गोविन्द थापा मगर, साधन राई र उनको आफ्नै संगीत छ। सबै गीत लोक आधुनिक फ्लेबरका छन्। गायक विकासका अनुसार एल्बममा रहेको गीतको भिडियो चाँडै निर्माण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्