कलाकार बलमान सिंह

0
Shares

पुरस्कार शिक्षामा
जुनी, जीवन रेखालगायतमा सफल चरित्र अभिनेताको भूमिका निर्वाह गरेका कलाकार स्व. बलमान सिंह स्वाँरको नाउँमा उनकी बहिनी प्रा. ईश्वरी स्वाँरले १५ हजार रुपियाँ राशीसहितको बलमान सिंह सेवा पुरस्कार स्थापना गरेकी छिन्। १ लाख रुपियाँको अक्षयकोष स्थापना गरी शुरु गरिएको पुरस्कारमा नगद १५ हजार, पदक र प्रमाणपत्र रहेको छ।

आफ्नो पेसाप्रति दत्तचित्त र इमान्दार भई काम गर्ने पहलमान सिंह मेमोरियल विद्यालय कैलालीका एक जना शिक्षकलाई प्रदान गर्ने गरी सो पुरस्कार स्थापना गरिएको हो। कलाकार स्व. स्वाँर सो विद्यालयको संस्थापक अध्यक्ष थिए।

उनको २०६९ असार १९ गते निधन भएको थियो। हरेक दुई⁄दुई वर्षमा उत्कृष्ट शिक्षकलाई प्रदान गर्ने गरी सो पुरस्कार स्थापना गरिएको सो विद्यालय व्यवस्थापन समितिकी अध्यक्षसमेत रहेकी प्रा. स्वाँरले बताएकी छिन्। पुरस्कार स्थापनाको पहिलो वर्ष पहलमान सिंह मेमोरियल मावि अम्बासा–५ कैलालीका शिक्षक प्रेमप्रसाद जोशीलाई सो पुरस्कार प्रदान गरिएको छ। कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्ट तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा. स्वाँरले नगद तथा प्रशंसापत्रसहितको सो पुरस्कार विद्यालयको ३२औं वार्षिकोत्सवका अवसरमा शिक्षक जोशीलाई प्रदान गरेका थिए
यसै गरी विद्यालयमा २९ वर्ष अध्यापन गरेका अर्का शिक्षक प्रेमप्रसाद सुवेदीलाई दीर्घ सेवा पदक पनि प्रदान गरियो। यसका साथै विद्यालयमा स्थापना गरिएको मनोरमा–पहलमान छात्रवृत्ति, पदम–इन्दु स्वाँर छात्रवृत्ति, त्रिपुरा–भोजराज स्वाँर छात्रवृत्ति, लोकराज स्वाँर छात्रवृत्ति र इला–सुशीला स्वाँर छात्रवृत्ति पनि प्रदान गरियो। त्यसै गरी शिक्षासेवी पुष्कर बम तथा विद्यालय व्यवस्थापन समितिका सदस्य हरिप्रसाद जोशीले जेहेन्दार तथा उत्कृष्ट विद्यार्थीलाई नगदसहितको ती छात्रवृत्ति वितरण गरेका थिए।

Skip This