कागजपत्र बन्न नसक्दा जहाज आउन ढिलाइ



नेपाल समाचारपत्र
काठमाडौं
नेपाल वायु सेवा निगमको वाई १२ ई विमान मंगलबार आउने भनिए पनि आज बुधबार नेपाल आइपुग्ने नेपाल वायु सेवा निगमले जनाएको छ।

विमान अवतरणका लागि नेपाल नागरिक उडड्यन प्राधिकरणमा कागजी प्रक्रिया पूरा गर्न ढिलाइ भएकाले मंगलबार आउन नसकेको हो नेपाल वायु सेवा निगमका सहप्रवक्ता शैलेस कंसाकारले बताउनुभयो। नेपाल समाचारपत्रसँग कुरा गर्दै कंसाकारले भन्नुभयो–‘कागजी काम पूरा भएमा बुधबार दिउँसो साढे १ बजेसम्म विमान त्रिभुवन विमानस्थल आइपुग्नेछ।’

१७ सिट क्षमता रहेको विमानको गौंथली नामकरण गरिएको छ। विमानको कल साइन नाइन एन–एकेटी रहेको सहप्रवक्ता कंसाकारले जानकारी दिनुभयो। यसअघि उक्त विमान शनिबार आउने बताइएको थियो। तर, अन्तिम समयमा विमान ल्याउने साइत मंगलबारका लागि सारिएको थियो। विमान आउँदा कुनै औपचारिक कार्यक्रम नराखिएको उहाँको भनाइ छ।

विमान चीन सरकारको सहुलियत ऋणमा ल्याउन लागिएको हो। निगमले चीनबाट आयात गर्न लागेका चार वटा जहाजमध्ये एमए ६० बिहीबार नेपाल आएको थियो। १७ सिटको वाई १२ ईले दुर्गम यस अगाडिको ट्वीनअटर विमानले सेवा दिँदै आएका पहाडी जिल्लामा उडान गर्नेछ।

‘दुईवटा विमान थपिएपछि विमान ग्राउन्डेड हुँदा खाली बस्नुपर्ने अवस्थाको अन्त्य हुन्छ भने यात्रुमा पनि नेपाल एयरलाइन्सप्रतिको विश्वास बढ्छ,’ कंसाकारले भन्नुभयो। निगमका अनुसार यसलगत्तै वाई १२ ई कल साइनका दुईवटा जहाज आउने छन्। चिनियाँ पक्षले निगमसँग लिखित रूपमा प्रतिबद्धता जनाए अनुरूप जहाज आउन लागेको हो। पहिले ल्याइएका दुईवटा जहाजमा प्राविधिक समस्या आएपछि यसपटक भने प्राविधिक उपकरण तथा स्पेयर पार्टस्समेत काठमाडौंमा नै उपलब्ध गराउने चिनियाँ पक्षसँगको प्रतिबद्धता अनुरूप आउन लागेको हो।
बीमा रकमलगायतका विषयमा यसपटक मन्त्रालयले चिनियाँ पक्षसँग पहिले नै सम्झौता गरिसकेको सहप्रवक्ता कंसाकारले बताउनुभयो। वाइ १२ ई जहाज पहाडी क्षेत्रमा उडानका लागि निगमले प्रयोग गर्ने बताएको छ। समयमा उडान भर्न नसकेर आलोचना खेप्दै आएको निगमले अब आउने जहाजबाट यात्रुलाई सहज यात्रा गराउने विश्वास लिएको छ। अहिले आउने जहाजको भित्री सजावट राम्रो र आरामदायी सिटको व्यवस्था रहेको बताइएको छ। न्युजील्यान्ड र अमेरिकन पाइलटले संयुक्त रूपमा विमान नेपाल ल्याउने छन्।

प्रतिक्रिया दिनुहोस्