रेष्टुरेन्ट व्यवसायसम्बन्धी तालिम



नेपाल समाचारपत्र
काठमाडौं
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले नेपाली पर्यटन क्षेत्रको जनशक्तिको सीप तथा ज्ञान अभिवृद्धि गर्ने उद्देश्यका साथ निरन्तर रुपमा मानव संशाधन विकास सम्बन्धी तालिम तथा कार्यशाला गोष्ठी सञ्चालन गर्ने अभियानअन्तर्गत नेपाल पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सहयोगमा सोमबारदेखि राजधानीमा ‘स्मार्ट प्राक्टिसेस इन रेष्टुरेन्ट विजनेस’ शीर्षकमा दुई दिने तालिम शुरू गरेको छ।

पाटाले तालिम प्रशिक्षणका लागि हङकङ पोलिटेक्निक युनिभर्सिटीका प्रोफेसर डा. मुरे म्याकन्सि र र्यान स्मिथलाई नेपाल आमन्त्रण गरेको हो। कार्यक्रममा होटेल, रेस्टुरेन्ट, एयरलाइन्स तथा होटेल म्यानेजमेन्ट कलेजबाट करिब १९० जनाले सहभागिता जनाएका छन्।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका सीईओ तथा पाटा नेपालका प्रथम उपाध्यक्ष दीपकराज जोशीले मानव संशाधन सीप विकास र सेवा सुदृढीकरण नेपाली पर्यटन क्षेत्रको आवश्यक बिषय भएको बताउनुभयो। तालिममा रेस्टुरेन्ट तथा क्याट्रिङ विजनेसमा नवीतम् तथा सफल अभ्यास अन्तर्गत स्ट्राटेजिक मेनु डिजाइन, रेस्टुरेन्ट टेक्नोलोजी, वाइन सेलिङ एन्ड मांकेटिङ, फुड एन्ड वाइन पेरिङ, वाइन टेस्टिङ जस्ता बिषयमा प्रशिक्षण दिने पाटा नेपाल च्याप्टरका कार्यकारी प्रबन्धक सुरेश सिहं बुडालले जानकारी दिनुभयो। उहाँले आगामी फेब्रुअरी २ मा रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल (पोखरा) सँंगको सहकार्यमा पोखरामा समेत एक दिने तालिम आयोजना गरिन लागेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्