फूलमा नेपाल आत्मनिर्भर वार्षिक डेढ अर्बको कारोबार



नेपाल समाचारपत्र
काठमाडौं
नेपालबाट फूल निर्यात गर्न कम्तिमा सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गर्नुपर्ने सरोकारवालाहरूको सुझाव छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले राजधानीमा आयोजना गरेको कार्यक्रममा विज्ञ तथा व्यवसायीहरूले यस्तो धारणा राखेका हुन्।

नेपालको आन्तरिक बजारको माग धानेर भारतसहित तेस्रो मुलुकमा पुष्प निर्यात गर्न ग्रिन हाउसलाई सुझावको रुपमा अघि सारेका हुन्। खुला स्थानमा पुष्प उत्पादन गर्दा विभिन्न प्रकारका हानिकारक किराले पुष्पको भित्री भागमा फूल पार्ने र यो फूल विस्तारै किरामा परिणत भएर अन्तर्राष्ट्रिय बजारमा पुष्पको निर्यातमा अवरोध सिर्जना गर्दै आएको छ। ग्रिन हाउसमा पुष्पको खेती गर्दा यस्ता किराबाट जोगिने र उत्पादनमा पनि झण्डै करिब १० गुणा बढी वृद्धि हुने भएकाले बिज्ञहरूले ग्रिन हाउसको आवश्यकता औंल्याएका हुन्। एसोसिएसनका पूर्वअध्यक्ष लोकनाथ गैरेले आधुनिक प्रविधिअनुसार ग्रिन हाउसमा पुष्पको खेती गर्दा आन्तरिक बजारको माग पनि धानिने र निर्यात पनि गर्न सकिने सुझाव दिनुभयो।

उहाँका अनुसार नेपालमा एक सय ४१ हेक्टरमा पुष्पको खेती हुँदै आएको छ। त्यसमध्ये ३० हेक्टरमा हाल ग्रिन हाउस निर्माण गरी व्यावसायिक रुपमा पुष्पको खेती हुँदै आएको छ। थप सय हेक्टर क्षेत्रफलमा ग्रिन हाउस निर्माण गरी आधुनिक प्रविधिको सहयोगमा पुष्प खेती सकिए निर्यात गर्न सहज हुने पूर्वअध्यक्ष गैरेले जानकारी दिनुभयो। ‘ग्रिन हाउसमा पुष्प खेती गर्दा ग्रिन हाउसमा विभिन्न प्रकारका किरा प्रवेश गर्ने खतरा पनि हुँदैन’, उहाँले भन्नुभयो–‘ग्रिन हाउसमा किरा प्रवेश नगर्दा अन्तर्राष्ट्रिय बजारको मागअनुसार गुणस्तरयुक्त पर्याप्त परिमाणमा पुष्पको उत्पादन हुन्छ। जसले गर्दा आन्तरिक बजारको माग सम्बोधन गर्न निर्यात गर्न पनि सहज हुन्छ।’

त्यस्तै एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले सय हेक्टरमा ग्रिन हाउस निर्माण गर्न कम्तिमा ५ अर्ब रुपियाँ लाग्ने जानकारी दिनुभयो। प्रतिस्क्वायर मिटर ग्रिन हाउसलाई पाँच हजार रुपियाँ लाग्छ। एक हेक्टरमा १० हजार स्क्वायर मिटर हुन्छ। श्रेष्ठले ग्रिन हाउससँगै कोल्ड रुम, चिल्लर, रेफ्रिजरेटेड भ्यान, आधुनिक ड्रिप सिँचाइ, फयुमिगेसन सेन्टरलगायतको सुविधा भयो भने अहिले आयात हँुदै आएको भारतीय पुष्पको बजार हिस्सालाई विस्थापन गर्न सकिन्छ।

‘ग्रिन हाउस र आधुनिक प्रविधिसहितको भौतिक पूर्वाधारमा लगानी लगाउन सकियो भने नेपाल पुष्प खेतीमा आत्मनिर्भर हुन सक्छ’, श्रेष्ठले भन्नुभयो– ‘अहिले कुल मागको करिब २० प्रतिशतमात्रै अन्य मुलुकबाट पुष्पको आयात हुन्छ। थप पाँच अर्ब लगानी हुन सक्यो भने वार्षिक रुपमा सवा अर्ब रुपियाँ बराबरको पुष्प निर्यात गर्न नेपाल सक्षम हुनेछ।’ पुष्प क्षेत्रमा निजी क्षेत्रको पाँच अर्बको लगानी छ। हाल वार्षिक रुपमा भारतबाट १० करोड मूल्यबराबरको पुष्प आयात हुँदै आएको छ। यस्तै नेपालमा उत्पादन हुने पुष्पमध्ये ताजा पुष्प र बल्वभन्ने जातको पुष्प गरी करिब तीन करोड ५० लाख मूल्यबराबरको निर्यात हुँदै आएको छ। नेपालमा ३९ जिल्लामा ६ सय ७५ पुष्प फर्म तथा नर्सरीमा पुष्प खेती हुन्छ। वार्षिक रुपमा आन्तरिक र बाह्य बजार गरी करिब डेढ अर्ब रुपियाँबराबरको कारोबार हुँदै आएको छ।

आर्थिक बर्ष २०७१⁄७२ देखि कृषि विकास मन्त्रालयले कार्यान्वयनमा ल्याएको पुष्प प्रवद्र्धन नीतिपछि सरकारले पनि पुष्प क्षेत्रमा लगानी लगाउन शुरु गरेको छ। सरकारले उपलब्ध गराउने लगानीको ८० प्रतिशत रकम ग्रिन हाउस र आधुनिक भौतिक पूर्वाधारमा खर्च भइरहेको छ। चालू आर्थिक वर्षमा मन्त्रालयले एसोसिएसनलाई चार करोड ७४ लाख रुपियाँ उपलब्ध गराएको छ। मन्त्रालयका उपसचिव शंकर सापकोटाले १० वर्षअघि करिब ९० प्रतिशत आयातित पुष्पमा निर्भर रहेको नेपाल विस्तारै आत्मनिर्भरतर्फ उन्मुख भएको जानकारी दिनुभयो। पुष्प विकास केन्द्रका प्रमुख द्रोणराज काफलेले पुष्प क्षेत्रको विकास र प्रवद्र्धन गर्न केन्द्र स्थापना भए पनि मन्त्रालयको असहयोगका कारण कुनै योजना अघि बढाउन नसकेको गुनसो गर्नुभयो।

राष्ट्रिय तथ्यांक विभागका अनुसार २०६० देखि २०७० को अवधिमा सबैभन्दा बढी पुष्प खेतीको विकास भएको छ।

प्रतिक्रिया दिनुहोस्