दुई स्वर एकसाथ



सेलिब्रेटी मेनेजमेन्ट नेपालको प्रस्तुतिमा गायकद्वय निशान भट्टराई र सुरेश लामा शनिबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान गुञ्जिए। एक दर्जनभन्दा बढी गीत गाइरहँदा दर्शकको गडगडाहडले हल तातेको थियो।

सोलफुल भ्वाइस नाम दिइएको सांगीतिक कार्यक्रममा गायकद्वय निशान र सुरेशले स्वरसम्राट नारायण गोपाल, भजनशिरोमणि भक्तराज आचार्य, गायक फत्तेमानलगायतका आधा दर्जनभन्दा बढी गीत गाएका थिए भने हिन्दी गजलसमेत गाएका थिए। निशानले गोपाल योञ्जनको देशले रगत मागे मलाई बली चढाउ बोलको गीत गाएर कार्यक्रमको शुरुआत गरेका थिए भने निशान र सुरेशले यस्तो पनि हँुदो रैछ, गल्ती हजार हुन्छन् यहाँ म मातिएको बेला, तिमीले पनि मजस्तै माया दिएर हेर, छोरीको जन्म हारेको कर्म, आगोको रापलगायत गाएका थिए।

कार्यक्रममाम आयोजक संस्थाका अध्यक्ष सुवास प्रधानले संगीतकार संघलाई १५ हजार नगद सहयोगसमेत गरेका थिए। कार्यक्रममा संगीतकार राजु सिंहले नेपालमा निशान र सुरेश जस्ता कलाकारको जन्म दिनानुदिन भइरहेकाले अब संगीतकारहरुले कम्पोज गर्दा मेहेनत साथ नयाँ–नयाँ किसिमका कम्पोज गर्नुपर्ने बताए। कार्यक्रममा पवन पाठकको आकर्षक नृत्यले कार्यक्रमको रौनक अझ बढाएको थियो।

प्रतिक्रिया दिनुहोस्