सर्वनाममा नृत्य र संगीत



सर्वनाम थिएटर र उत्कल युवा सांस्कृतिक संघले संयुक्तरूपमा आयोजना गरेको अन्तर्राष्ट्रिय नृत्य तथा संगीत महोत्सवका कारण शनिबार कालिकास्थानस्थित सर्वनाम थिएटरमा भारतीय संगीत र नृत्यको बहार आयो। कार्यक्रममा भारतका विभिन्न प्रान्तका दुई दर्जन नृत्य र संगीत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा भारतको ओडिसा, महाराष्ट्र, मध्यप्रदेश, आन्ध्र प्रदेशलगायतका स्थानको शास्त्रीय नृत्य महोत्सव आकर्षणका रूपमा प्रस्तुत भएका थिए। फरक स्थानका लोकनृत्य प्रस्तुतिका कारण दर्शक रमाएका थिए। जुनियर र सिनियर, एकल र समूह गरी बेग्लाबेग्लै विधामा नृत्य प्रस्तुत भएका थिए।

महोत्सवमा शास्त्रीय गायन पनि प्रस्तुत गरिएको थियो। त्यस्तै विद्यार्थीहरुले विद्यालयकै शास्त्रीय भजन गुञ्जाएका थिए। जसअन्तर्गत ५ वर्षे बालिकादेखि ३५ वर्षसम्मका कलाकारले शास्त्रीय संगीत प्रस्तुत गरेका थिए। साथमा आधुनिक र सेमिक्लासिकल नृत्य पनि प्रस्तुत गरिएका थिए। सांस्कृतिक संघले सर्वनामको सहकार्यमा हरेक वर्ष नेपालमा अन्तर्राष्ट्रिय महोत्सव आयोजना गर्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्