कर्मलाई राष्ट्रिय संगीत पुरस्कार समर्पण



हेटौंडा, (नेस)। एकेडेमी पुरस्कार, भानु पुरस्कार र मित्रसेन पुरस्कारलगायत विभिन्न पुरस्कारबाट सम्मानित भइसकेका संगीतकर्मी कर्म योञ्जन शनिबार हेटौंडामा राष्ट्रियस्तरको संगीत पुरस्कारबाट सम्मानित भएका छन्।

भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालले योञ्जनलाई १ लाख नगद राशिको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कारबाट पुरस्कृत गरेको हो।
गीतकार तथा फिल्म निर्देशक चेतन कार्की, पुरस्कार संस्थापक हेटौंडाका युवा उद्यमी कन्हैयाकृष्ण श्रेष्ठ र प्रतिष्ठान अध्यक्ष उज्ज्वल शर्मा भण्डारीले कर्मलाई पुरस्कृत गरेका हुन्। पुरस्कारको यो १०औं संस्करण भएकाले बृहत् ढंगले आयोजना गरिएको थियो। कार्यक्रममा समाजसेवी मुक्तिगोविन्द वैद्य र सल्लाहकार तुलसी थापालाई सम्मान गरिएको थियो।

कार्यक्रममा गायक दुर्गा खरेलले बोलाउँ भने तिमीलाई बात लाग्ने डर, सारंगीको तारले मेरो मनको गीत गाउँछजस्ता गीत गाएर माहोलमा सांगीतिक उत्साह थपेका थिए। त्यसै गरी प्रलय चौलागाईं, कृष्णगोपाल सिंह, सुनील केसी र पुरनविक्रम अधिकारीले आफ्ना संगीतकला प्रस्तुत गरेका थिए।

कर्मले गीत–संगीतको क्षेत्रमा जीवनको लामो समय बिताइसकेका छन्। भन्छन्– ‘आर्थिकरूपमा कति कमाएँ, कति गुमाएँ लेखाजोखा छैन। तर, धेरै कमाएँ र थोरै गुमाएँ।’ उनी आफूलाई यस क्षेत्रको भाग्यमानी व्यक्ति ठान्छन्, जसले दाम र नाम दुवै कमाए। तर, भारतको दार्जिलिङका योञ्जनलाई एउटै कुराले सधैं पिरोलिरहन्छ। दार्जिलिङमा जन्मी–हुर्की कलाकारिता क्षेत्रमा प्रवेश गरेका नेपालीभाषी योञ्जन वास्तवमा नेपाली भूमिलाई नै कर्मक्षेत्र बनाउन चाहन्थे। त्यो पनि क्षणिक समयका लागि नभई पूरापूर जीवनभरका लागि।

नेपाली भूमिको कलाकारिता क्षेत्रमै सिंगो जीवन बिताउने उनको सपना अन्ततः समनामै सीमित रह्यो। उनले नेपालमै जीवन बिताउने आधिकारिकताका लागि सत्तरीको दशकमा धेरै दौडधुप गर्नुपर्यो। तर, नेपाली नागरिकता हात लागेन। नागरिकताका लागि सम्पूर्ण प्रक्रिया अघि बढेको थियो। नेपालको नागरिकता नभएर नेपालमै बस्न नपाए पनि उनीसँग नेपाल र नेपालीप्रति अगाध माया र मोह छ। त्यही माया दर्शाउन उनले सन् १९६२ मा रेडियो नेपालमा पहिलोपटक अगमसिंह गिरीको शब्द, आफ्नै संगीत र स्वरमा गीत रेकर्ड गराए मेचीको वारि बसेर हामीले माया गरेकै छौं।

छिटपुट संगीत साधना गरिरहेका कर्मले अम्बर गुरुङको अगुवाइमा खुलेको आर्ट एकेडमीमा सन् १९५६ मा आबद्ध भएपछि कलालाई अझ तिखार्ने अवसर पाएका हुन्। कर्मले त्यही क्रममा कोलकातास्थित हिन्दुस्तान रेकर्डिङ कम्पनीमा दिलमाया खातीसँग सम्झेर बुझेर गीत गाए, जुन गीत चर्चित भयो।

कर्मले गोपाल योञ्जनसँगै संयुक्तरूपमा गीतहरुमा संगीत रचना गर्न थाले। तर, साठीको दशकको मध्यतिर गोपाल योञ्जन काठमाडौं छिरेपछि उनको एक्लो संगीत सिर्जनामा गीतहरु आउन थालेका हुन्। करिब ३० वटा नाटक र करिब ५ सय गीतमा संगीत रचना गरिसकेका छन् उनले। उनको संगीतमा फूललाई सोधें कहाँ गयो, चिनारी हाम्रो धेरै पुरानो भएझैं लाग्दछ, सम्झिरहन्छु हररात, हे फूल चुँडेर लाने होलगायत गीतहरु अत्यन्त लोकप्रिय छन्।

कर्मले पाएको सो पुरस्कारबाट प्रसिद्ध संगीतसाधक अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारी, शान्ति ठटाल, दीप श्रेष्ठ, प्रकाश श्रेष्ठ र नेपाली सांस्कृतिक वाद्यवादन विधामा प्राध्यापन र प्रशिक्षणका साथै अनुसन्धान, संरक्षण एवं सम्बद्र्धनमा समर्पित काठमाडौंको वाद्यगुरु न्हुच्छेबहादुर डंगोल संस्थापक अध्यक्ष रहेको नाट्येश्वर संगीत प्रशिक्षण केन्द्र सम्मानित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्