भ्युटावर डेढ वर्षपछि सञ्चालनमा



हेटौंडा,(नेस) ।
मकवानपुरको पर्यटकीयस्थल दामनमा रहेको एभरेष्ट भ्युटावर पुनः सञ्चालनमा आएको छ । २०७२ वैशाख १२ को भूकम्पले क्षतिग्रस्त बनाएको भ्युटावर करिब डेढ वर्षपछि सञ्चालनमा आएको हो ।

दामनको गहना र पर्यटकीय गन्तव्यका रुपमा रहेको भ्युटावर मर्मतपछि पर्यटक बृद्धि भएको भ्युटावर सञ्चालक लवशेर बिष्टले बताउनुभयो । सञ्चालक बिष्टले जिविस र आफ्नो गरी करिब ३० लाख रुपिया“ खर्चेर पुनर्निर्माण गरिएको बताउनुभयो ।

भ्युटावर सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सरकारले २०६५ मंसिरदेखि जिविसलाई दिएको थियो । पर्यटन मन्त्रालयको मातहतमा रहेको भ्युटावर जिविसले त्यसपछि सञ्चालनको जिम्मा बिष्टलाई दिएको थियो ।

उहाँले वार्षिक पाँच लाख १० हजार रुपियाँ भाडा तिर्ने गरी भ्युटावर र रेष्टुराँ सञ्चालनको जिम्मा लिनुभएको छ । जिल्ला विकास समितिले भ्युटावर सञ्चालन गर्न खुला बोलपत्र आह्वान गरेर पहिलोपटक निजी क्षेत्रलाई जिम्मा दिएको जिविसका सामाजिक विकास अधिकृत रामकृष्ण थापाले बताउनुभयो ।

स्थानीय वृद्धका अनुसार नेपालको पहिलो राजमार्ग त्रिभुवन राजपथ सञ्चालन आउनुअगावै भ्युटावर निर्माण भइसकेको थियो । विभिन्न संघसंस्थामार्फत् सञ्चालन गरिएको भ्युटावर र रेष्टुरा“को भौतिक विकासका लागि स्थानीय निकाय र व्यवसायीहरुले प्रशस्त लगानी गरिसकेका छन् ।

रिसोर्टमा एक रातमा कम्तिमा ७० जनालाई आवास सुविधा, खाना र क्याम्प फायरिङको सुविधा प्रदान गर्नसकिने क्षमता छ । उक्त क्षेत्रमा साधारण तर मूल्यवान खपटे कीरासम्बन्धी अध्ययन गर्न सहज हुने हेतुले पुस्तकालय स्थापनाको लक्ष्य राखिएको छ ।

मकवानपुरको महाभारत पर्वतश्रृंखला अर्किड (सुनगाभा) र लालीगुराँसको भण्डारका रुपमा चिनिन्छ । विभिन्न जात तथा रङका लालीगुराँसका लागि दामन सीमभञ्ज्याङ क्षेत्र प्रसिद्ध मानिन्छ । नेपालमा पाइने ३ सय ५० प्रजातिका सुनगाभामध्ये त्यहाँ करिब १ सय ७५ प्रजातिका पाइने बताइएको छ । सीमभञ्ज्याङ २ हजार ४ सय ८८ मिटर उचाईंमा छ ।

भ्युटावर चढ्न र त्यहाँ रहेको रेष्टुराँमा बसेर खानपिन गर्न निकै जोखिमपूर्ण देखिएपछि ताला लगाएर राखिएको थियो । करिब ४० फिट अग्लो भ्युटावर जगदेखि नै चर्किएर कोल्टे परेका कारण त्यहाँ चढ्न र बस्न जोखिम थियो ।

समुद्री सतहबाट करिब दुई हजार तीनसय २२ मिटरको चिसो क्षेत्रमा स्थापित भ्युटावर चढेर त्यहाँको टेलिस्कोपबाट नेपालका अग्ला १५ हिमश्रृंखला हेर्न दिनहुँ कम्तिमा एकसय ५० जना पुग्ने गर्दछन् । शुक्रबार र शनिबार पर्यटकको संख्या बढेर कम्तिमा सात सय पुग्ने गरेको बिष्टले बताउनुभयो ।

दामनको नाङ्गेचुलीमा पर्यटकीय महत्वको अर्को भ्युटावर निर्माण गरिने भएको छ । करुणाभूमि सामुदायिक बन उपभोक्ता समितिले रेडियो नेपालको सहयोगमा सुविधासम्पन्न टावर निर्माण प्रक्रिया अघि बढाएको हो ।

टावर निर्माणका लागि माटो परीक्षण र आवश्यक खर्च स्टिमेट गरी रेडियो नेपाललाई पठाइएको छ । करिब ४० खर्च अनुमान गरिएको टावरको पहिलो तला रेडियो नेपालले बनाइदिने सहमति बनेको सामुदायिक बन अध्यक्ष बिनोद लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्