उत्तमको रीति सार्वजनिक



गायक एवं संगीतकार उत्तमजंग लिम्बु लावती गीति एल्बम रीतिसहित दर्शक स्रोतामाझ आएका छन्। गायनसँगै संगीतमा समेत आफूलाई अगाडि बढाइरहेका उत्तमको रीतिको बुधबार राजधानीमा एक समारोहबीच सार्वजनिक गरिएको हो। एल्बमको संगीतकार शान्तिराम राई, ताराप्रकाश लिम्बु, पारस मुकारुङ, गायक दीपक लिम्बु, तुलसी पराजुली, भीषण मुकारुङ र गायक स्वयंले संयुक्तरूपमा सार्वजनिक गरेका थिए।

कार्यक्रममा बोल्दै प्राज्ञ तथा संगीतकार शान्तिराम राईले उत्तमजंगको गायन र संगीत सिर्जनाको तारिफ गरे। ‘उत्तमजंग नेपाली सांगीतिक क्षेत्रका लागि उत्तम व्यक्तित्व हुन्। उनी गायनमा जति अब्बल छन् संगीतमा पनि उत्ति नै उत्तम छन्’ –उनले भने। रीति उनको तेस्रो एल्बम हो। जसमा उनकै स्वर, संगीत र शब्द रचना रहेको छ।

एल्बम सार्वजनिक गरेपछि गायक तथा संगीतकार उत्तमजंगले यो गीत स्टेजलाई लक्षित गरेर तयार पारेको दाबी गरे। कार्यक्रममा रीतिमा संगृहित मार्यौ नि निरमाया बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो। हरि हुमागार्इंले निर्देशन गरेको म्युजिक भिडियोमा अलिसा राई, निराजन प्रधान र सुरेनले अभिनय गरेका छन्। डान्सिङ बिटको उक्त गीतको भिडियोमा गम्भीर विष्टले कोरियोग्राफी गरेका छन् भने छायांकन उत्तम हुमागार्इं र सम्पादन निशान घिमिरेको रहेको छ।

प्रतिक्रिया दिनुहोस्