विजुली चोरीमा कर्मचारीको संलग्नताः प्राधिकरणद्वारा एकैपटक २५ सय कर्मचारी सरुवा



नेपाल समाचारपत्र
काठमाडौं
बिजुली चोरीमा आफ्नै कर्मचारीको संलग्नता खुलेपछि नेपाल विद्युत प्राधिकरणले एकै पटक झन्डै २ हजार ५ सय कर्मचारीको सरुवा गरेको छ।

कर्मचारीले पहुँचवाला उपभोक्तासँगको मिलेमतोमा उठेको बिलभन्दा कम शुल्क लिने गरेको थाहा पाएपछि प्राधिकरणले दुई दिनअघि वितरण तथा ग्राहक सेवा विभागअन्तर्गत देशभर कार्यरत दुई हजार ४ सय ८० जना कर्मचारी सरुवा गरेको हो। उनीहरू सबै मिटर रिडिङलगायत काममा खटिएका पाँच तह तलका कर्मचारी हुन्।

दशौँ वर्षदेखि एकै ठाउँमा रहेका कर्मचारी अहिले सरुवामा परेका हुन्। प्राधिकरण सुधारका लागि लामो समय एउटै कार्यालयमा रहेका कर्मचारी सरुवा गर्दा कांग्रेस र एमाले सम्बद्ध युनियनले भने विरोध गरेका छन्। उनीहरूले प्राधिकरणको क्षेत्रीय कार्यालयहरूमा धर्नासमेत दिन थालेका छन्। कर्मचारी युनियनले प्राधिकरण मुख्यालयमा कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यालयमा समेत धर्ना दिएका छन्।

एकै ठाउँमा जरो गाढेर बसेका कर्मचारीले बिजुली चोरीमा सेटिङ मिलाएको खुल्न थालेपछि प्राधिकरण व्यवस्थापनले नेक्सस तोड्नका लागि सरुवा गरेको हो। बिजुली चोरीविरुद्धको प्रहरी अनुसन्धानलाई समेत सघाउ पु¥याउने गरी कर्मचारी सरुवा गरेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो।

प्राधिकरणको हितलाई केन्द्रमा राखेर कर्मचारी सरुवा गर्दा पनि युनियनले विरोध गर्नु आश्चर्यजनक रहेको उहाँले बताउनुभयो। आफु यो निर्णयबाट कुनै हालतमा पछाडि नहट्ने र सरुवा भएको कार्यालयमा जान नमान्ने कर्मचारीलाई कारबाही गर्ने जानकारी दिनुभयो।

‘सरुवा गरिएका कर्मचारीलाई कहिँ टाढा खटाएको पनि होइन’ उहाँले भन्नुभयो ‘एउटै क्षेत्रीय कार्यालय अन्तर्गत एउटा शाखाबाट अर्कोमा पठाइएको हो।’ कांग्रेस र एमाले सम्बद्ध कर्मचारी युनियनले फागुनमा प्राधिकरणको आधिकारिक ट्रेड युनियनको निर्वाचन तोकिएको हुँदा कर्मचारी सरुवा गर्न नमिल्ने दावी गरेका छन्। तर, माघ १८ पछि मात्र निर्वाचन आचार संहिता लागु हुने हुँदा सरुवा गरेको घिसिङको भनाइ छ।

बिजुली चोरीमा संलग्न कर्मचारीले प्रमाण नष्ट गर्न नपाउन भनेर एकै पटक सरुवा गरेको उहाँले बताउनुभयो। अहिले नेपालमा २६ प्रतिशत विद्युत चुहावट हुँदै आएको छ। एक प्रतिशत बिजुली चुहावटमा राज्यले ५० करोड रूपैयाँ गुमाउँदै आएको छ। यसरी २६ प्रतिशत चुहावटमा राज्यलाई १३ अर्ब रूपैयाँ घाटा छ। चुहावट भएको बिजुलीमध्ये आधा भन्दाबढी चोरी हुने गरेको छ।

विगतमा हुकिङ लगायत माध्यमबाट घरायसी उपयोगका लागि बिजुली चोरी हुने बताइँदै आएको थियो। तर, घिसिङ कार्यकारी निर्देशक नियुक्त भएपछि उहा“ले हुकिङभन्दा कर्मचारीको संलग्नतामा व्यवसायिक प्रयोजनाका लागि ठूलो परिमाणमा चोरी भएको हुनसक्ने आशंका सहित चुहावट बिरुद्ध अभियान शुरू गर्नुभएको थियो।तीन दिनअघि १२ जना वहालवाला तथा निवृत्त कर्मचारीलाई विजुली चोरीमा सघाउ पुर्या एको प्रमाण सहित प्रहरीले पक्राउ गरेको थियो। बुधबार थप तीन जना पक्राउ परेका छन्। सोमबार पक्राउ पर्नेमध्ये केहि कांग्रेस र एमाले निकट कर्मचारी युनियनका पदाधिकारी छन्।

कर्मचारीले ठूला एवं कर्पोरेट ग्राहकबाट घुस खाएर उठेको भन्दा कम शुल्क लिने एवं मिटर नै बिगारेर थोरै खपत देखाइदिने गरेका थिए।

प्रतिक्रिया दिनुहोस्