चलचित्र संघमा उदयको नेतृत्वमा निर्विरोध कार्यसमिति



हेटौंडा, (नेस)। नेपाल चलचित्र संघको अध्यक्षमा प्रदीपकुमार उदय निर्विरोध निर्वाचित भएका छन्। हेटौंडामा मंगलबार राति सम्पन्न भएको ४४औं वार्षिक साधारणसभाले ३ वर्षका लागि नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।

कार्यसमिति सदस्यमा ओम जोशी, कपिल दुवा, मधुसूदन प्रधान, मदनमान बज्राचार्य, वीरेन्द्रनारायण श्रेष्ठ, नरेन्द्र महर्जन, अशोक शर्मा, विक्रम पराजुली, अर्जुन श्रेष्ठ, गोपालकाजी कायस्थ, नारानप्रसाद आचार्य, मिजास पोखरेल र राजीवकुमार शाह छन्। देशभरका १ सय २६ जना फिल्म व्यवसायीले नेतृत्व चयन गरेका हुन्।

संघको विधानअनुसार अध्यक्ष निर्वाचनबाट निर्वाचित गर्ने तथा निर्वाचनबाटै निर्वाचित सदस्यहरुबाट पछि अध्यक्षले पदाधिकारी चुन्ने प्रावधान रहेको छ। नयाँ कार्यसमितिको कार्यभार आगामि वैशाखमा मात्र सुम्पिइने संघले जनाएको छ।

सभाको शुभारम्भ गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले विगतमा २/४ वर्षमा एउटा फिल्म बन्ने गरेको स्मरण गर्दै हाल वर्षमा डेढ÷दुई सय फिल्म बन्नु सकारात्मक भएको धारणा राखे। नेपालमा फिल्म निर्माणको क्रम बढे पनि यसको विकासका लागि सरकारबाट खासै केही योजना बन्न नसकेको उनले बताए। फिल्म मनोरञ्जनमूलक मात्र नभई शिक्षामूलक, चेतनामूलक तथा देशभक्तिले ओतप्रोत भएको बनाउन फिल्मकर्मीलाई उनले सुझाव दिए।

चलचित्र संघका अध्यक्ष नकिम उद्दिनको सभाध्यक्षतामा भएको कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, संघका निवर्तमान अध्यक्ष राजकुमार पोखरेल, नेकपा माले केन्द्रीय सदस्य एवं जिल्ला सचिव भीमसेन महत र मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष राजकुमार न्यौपानेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्