राजस्व सङ्कलनमा वृद्धि



काठमाडौँ, ११ माघ । चालु आवको पुस मसान्तसम्मको राजस्व सङ्कलन गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले वृद्धि भएको छ ।

चालु आवको सो अवधिमा रु एक खर्ब छ अर्ब राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु एक खर्ब १२ अर्ब सङ्कलन भएको आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले जानकारी दिनुभयो ।

आयकरतर्फ करिब रू ६१ अर्ब ८९ करोड, मूल्य अभिवृद्धि करतर्फ (भ्याट) रू २८ अर्ब ६० करोड र अन्तःशुल्कतर्फ रू २१ अर्ब आठ करोड सङ्कलन भएको छ ।

शिक्षा सेवा शुल्क ३८ करोड ५० लाख र स्वास्थ्य सेवा कर रु ५२ करोड ८५ लाख सङ्कलन भएको छ । शिक्षा सेवा शुल्कतर्फ लक्ष्यको तुलनामा ८८ प्रतिशत र स्वास्थ्यसेवा करतर्फ लक्ष्यको तुलनामा ८९ प्रतिशत सङ्कलन भएको छ ।

विभागका अनुसार गत वर्षको तुलनामा आयकर वृद्धिदर १४७ प्रतिशत, मूल्य अभिवृद्धि कर वृद्धिदर १२५ प्रतिशत, अन्तःशुल्क वृद्धिदर १६० प्रतिशत, स्वास्थ्य सेवा कर वृद्धिदर १३१ प्रतिशत र शिक्षा सेवा शुल्क वृद्धिदर १३१ प्रतिशत छ ।

काठमाडाँैं उपत्यकाभित्रका सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखलाई दर्ता प्रक्रियामा करदाताको सबै विषय अद्यावधिक गरी बाँकी बक्यौता छिटो उठाउन निर्देशन दिनुभयो । उहाँले बहालकरको असुलीमा प्रभावकारिता ल्याउन सरकारी कार्यालयले तिर्ने वहाललाई आधार मानेर बजार अनुगमनलाई तीव्रता दिन आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्