नेपालका मान्छेले मात्रै खाली बाहिरको सिको गर्छन् भन्ने कुरा धरहराले पहिलादेखि नै सुन्दै आएको हो। तर, अहिले पश्चिमा मुलुकतिर धरहराले दूरबिन घुमाउँदा भने यो कुरा गलत भएको यसलाई लाग्न थालेको छ। कुरा अहिले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेपछि पश्चिमा मुलुकमा निस्किएका जलुस र प्रदर्शनका हुन्।
अमेरिकामा मात्रै होइन, बेलायत, जर्मनी, अस्ट्रेलियासम्म ट्रम्पको विरुद्धमा जुलुस निस्किए। जब कि उनी प्रक्रिया पूरा गरेर प्रजातान्त्रिक प्रक्रियाबाट नै सत्तामा आएका हुन्। यसमा कुनै विवाद नै छैन। अब जनताले नै पत्याइसकेपछि उनको विरुद्धमा जुलुस निकाल्दै हिँड्नुको पनि कुनै अर्थ छैन। मतदान प्रक्रियाबाट नेतृत्व छानिने सबैभन्दा प्रजातान्त्रिक तरिका भनेकै यही हो। अनि कसरी त्यसलाई मान्दिन भन्ने? धरहरा छेउछाउमा पनि हिजो यस्तो कुरा भइरहेका थिए।
एक जनाले अलि घत लाग्दो कुरा गरे। पहिला नेपालमा पनि खोइ के जाति पार्टीले चुनाव हार्दा र केजातिले चुनाव जित्दा त्यस्तै विरोध प्रदर्शन भएको थियो। त्यही भएर पश्चिमाहरूले पनि सिको गरेको हुन सक्छन्। त्यसैले उनीहरूले पनि विरोध प्रदर्शन गरेका हुन सक्छन्। होला त पाठकवृन्द? विरोध गर्न उताकाले पनि यतैबाट सिकेका होलान् त?