एमटिभी रोडिज शोका नेपाली संस्करण हिमालय टिभीमा



विश्वभर लोकप्रियता पाउँदै आएको एमटिभी रोडिज शो नेपाली संस्करणमा पनि आउने भएको छ। हिमालय टेलिभिजनले आइतबार राजधानीको सोल्टीमोडस्थित सोल्टी क्राउन प्लाजामा एक कार्यक्रम आयोजना गरी नेपाली संस्करणमा एमटिभी रोडिज शो ल्याउने घोषणा गरेको हो।

टेलिभिजनहरूमा मनोरञ्जनात्मक कार्यक्रमको कमीका कारण दर्शक कम भइरहेको समयमा यो नयाँ कार्यक्रम ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ। ‘यस्तो ठूलोस्तरको अन्तर्राष्ट्रिय फ्रेन्चाइज राष्ट्रिय टेलिभिजनमा प्रसारित हुनु हामी सबैका लागि एकदम रोमाञ्चक कुरा हो’, यस सिरिजका निर्देशक अमनप्रताप अधिकारीले भने– ‘यसले नेपाली प्रोडक्सन प्रयासहरूलाई अन्तराष्ट्रिय स्तर प्राप्त गर्न मद्दत पुर्याउनेछ।’ रोडिजको रगेड, ग्रन्जी तथा एड्भेन्चरले भरिएको शैलीले यसलाई भिन्नै पहिचान बोकेको छ। कार्यक्रममा दिइने कार्यहरूदेखि प्रतियोगिता र एडिटको स्टाइलसम्म सबैले एउटै शैली बोकेको छ। विगतका सिजनहरूमा एमटिभी रोडिजले सधैं दर्शकलाई उल्लेखनीय लोकेसन, प्रतियोगात्मक चुनौतीहरू तथा एलिमिनेसन र वाइल्ड कार्ड इन्ट्रीसम्बन्धी ड्रामामार्पmत् आकर्षित गर्न सफल हुँदै आएको छ।

हिमालय रोडिजका लागि ५ फरकफरक शहर पोखरा, चितवन, धरान, बुटवल र काठमाडौंमा भिन्दाभिन्दै अडिसन हुने टेलिभिजनले जनाएको छ। हिमालय टेलिभिजनले यसका एपिसोडहरू पहाडदेखि तराईसम्मका विविध भूभागमा हुने भएकाले यसले आन्तरिक पर्यटन र स्थानीयबासीलाई विशेष बढावा दिने निश्चित हुने विश्वास व्यक्त गरेको छ।

भाइकोम १८ र एमटिभी इन्डियाको साझेदारीमा यस कार्यक्रमलाई नेपालीबीच ल्याउन पाएकोमा गर्व महसुस भएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक च्याङ अग्रवालले बताए। ‘यस सिरिजले नेपालका च्यानलहरूको लोकप्रियतामा वृद्धि ल्याउने विश्वास लिएको छु। जुन तब मात्र सम्भव छ, जब हामी नयँँ जमानाका दर्शकको अभिरुचिलाई ध्यानमा राख्न सक्छौं’ –उनले भने। हिमालय रोडिजका तीन निर्णायकमा दिया मास्के, रेमनदास श्रेष्ठ र आशिष राना रहेका छन्। हिमालय रोडिजका विजेताले २० लाख रुपियाँ र एउटा बजाज एभेन्जर जित्ने अग्रवालले जानकारी गराए। त्यसै गरी शिल्क एयरको दशौँ वार्षिकोत्सवको अवसरमा हिमालय रोडिजको रजिस्टेसनको लक्की ड्रबाट छानिएका दुई जनालाई सिंगापुरको राउन्ड टिप टिकट प्रदान गरिने जनाइको छ। रोडिजको विजेताले शिल्क एयरले उडान भर्ने १३ देश र ५३ शहरमध्ये कुनै पनि एकको राउन्ड ट्रिप टिकट प्राप्त गर्नेछ। साथै फस्ट रनर्सअपले सिंगापुरको राउन्ड ट्रिप टिकट प्राप्त गर्नेछ।

कार्यक्रमको आवेदन फर्म बजाजको शोरुम, एनसेल सेन्टर र नेपालएसबीआई बैंकको सबै शाखा कार्यलयमा देशभर यही जनवरी २५ बाट वितरण गरिने तथा हिमालय टेलिभिजनको अनलाइन साइटबाट तत्कालै भर्न सकिने जनाइएको छ।
एमटिभी रोडिजले हरेक वर्ष हजारौं व्यक्तिलाई यस प्रतियोगात्मक रियालिटी सिरिजतर्पm आकर्षित गर्दै सबैभन्दा ठूला रियालिटी शोमध्ये एकको रूपमा आफूलाई प्रमाणित गरेको छ। रोडिज पपकल्चरको हिस्सा बन्दै रोमाञ्च खोज्ने युवाहरूको मनोवृत्ति झल्काउने विशेष कार्यक्रमका रूपमा स्थापित छ। प्रतियोगीहरूको मानसिक क्षमताको परीक्षणका साथै अनुभव र क्षमता तथा विश्वास र आशामध्ये कुन बढी आवश्यक हुन्छ भन्ने पहिल्याउने काम यस कार्यक्रमले गर्ने गरेको छ।

१३ वर्षदेखि ७० करोडभन्दा बढी दर्शकका साथ रोडिज विश्वकै सबैभन्दा सोसियल टिभी शो मानिन्छ। जसको सशक्त डिजिटल कम्युनिटीको साथै कार्यक्रमप्रति विशेष आस्था राख्ने समूह पनि प्रशस्त छन्। रोडिजमा भाग लिन अडिसन दिने कैयौं प्रतियोगीमध्ये छनोट गरिएका केहीले मात्र कडा परीक्षण प्रक्रियामार्पmत् एक रोमाञ्चक यात्रामा भाग लिन पाउने गरेका छन्। बढ्दो लोकप्रियतासँगै रोडिजले नेपालमा पनि थुप्रै दर्शक पाइसकेको छ, जसमध्ये धेरै हार्डकोर फलोअर बनिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्