मिस र लिटिल आइकनको ट्यालेन्ट शो



एएनपी मिडिया हाउसले आगामी माघ १६ गते आइतबार राजधानीमा एकसाथ आयोजना गर्न लागेको मिस कलेज आइकन तथा लिटिल आइकन नेपाल २०१७ का प्रतिस्पर्धीमाझ एक समारोहका बीच ट्यालेन्ट शो गरेको छ।

हाउसले एकसाथ एकै मञ्चमा आयोजना गर्न लागेको मिस कलेज आइकन तथा लिटिल आइकन नेपाल २०१७ को ट्यालेन्ट शो पनि शनिबार नयाँ बानेश्वरको होटल रानी महलमा एकसाथ सम्पन्न गर्यो। ट्यालेन्ट शोमा दुवै प्रतियोगिताका प्रतिस्पर्धीले नृत्य, गायन, वक्तृत्वकला, नाटक र चित्रकला प्रस्तुत गरेका थिए। दुवै प्रतियोगिताको मिस तथा मास्टर ट्यालेन्ट उपाधिका लागि ट्यालेन्ट शो आयोजना गरिएको र यो उपउपाधिको विजेताको नाम अन्तिम स्पर्धाका दिन आगामी माघ १६ गते घोषणा गरिने आयोजक संस्थाका प्रबन्ध निर्देशक लबबहादुर कार्कीले जानकारी गराए। प्रतियोगिताको निर्णायक मण्डलमा गोपाल ढकाल (छन्दे), इभेन्ट आयोजक निशुकान्त झा, टिचर आइकनकी विजेता शिल्पी गुप्ता र सञ्चारकर्मी सरोज प्याकुरेल थिए।

प्रतियोगिता राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा हुनेछ भने काष्ठमण्डप टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ। दुवै प्रतियोगिताका प्रतिस्पर्धीहरूलाई प्रतिभाको विकास, व्यक्तित्व विकास, कुशल बोलीचाली अभ्यास, नेतृत्व क्षमता अभिवृद्धि तालिम, रिस र समय व्यवस्थापन, बाल जनचेतना र अधिकार, स्टेज प्रस्तुति र मोडलिङको ज्ञानसम्बन्धी तालिम र प्रशिक्षण प्रदान गरिइरहेको कार्कीले जानकारी गराए।

शम्भुप्रसाद रेग्मीको संयोजन र अश्विनी झाको कोरियोग्राफी तथा सञ्चालनमा हुने मिस कलेज आइकनमा राजधानीका विभिन्न कलेजमा अध्ययनरत १५ कलेज सुन्दरीले प्रतिस्पर्धा गर्दै छन्। त्यसै गरी लिटिल आइकन नेपालमा राजधानीका विभिन्न विद्यालयमा अध्ययनरत ४१ जन बालबालिकाले स्पर्धा गर्दै छन्।

प्रतिक्रिया दिनुहोस्