नयाँ संस्करणमा नीरो



एन्नो डोमिनी अर्थात् जुलियन र ग्रेगोरियन क्यालेण्डर अन्तर्गतको सम्बत एडी ६४का कुनै ६ दिन सम्म अहिलेको इटालीको राजधानी रोम जलेको कुरा इतिहासमा यो धरहराले पनि देख्ने गरेको छ । त्यतिबेला रोमको झण्डै ७० प्रतिशत भाग जलेर नष्ट भएछ । जनसंख्याको आधा हिस्सा घरबार विहीन भएछ । त्यतिबेलाका हर्ताकर्ता बादशाह नीरो भने रोमबाट ३५ माइल टाढाको भिल्लामा बाँसुरी बजाएर बस्थे रे । उता जनता भने आगलागीको चित्कारमा हुँदा रहेछन् ।

कतिपय इतिहासकारहरुले त नीरो स्वयंले आगलागी गराएको पनि भन्दा रहेछन् ।
नीरो एकदमै स्याडिस्ट र निर्दयी रे । निर्दयी यति सम्मकी इसाइ धर्माबलम्बीलाई तेलमा डुबाएर हत्या गर्ने र उनीहरुको शव झुण्ड्याएर आगो लगाई बगैंचामा उज्यालो पार्दा उनलाई मजा हुने रे । बेलाबेलामा नीरोको बाँसुरीको कुरा नेपालको राजनीतिमा पनि उपमाको रुपमा आउने गरेको छ । नेता महोदयहरुले नै भन्ने गरेका छन् । त्यसको पृष्ठभूमिचाहिं माथि भनिएको कुरा हो । कतिपय इतिहासकारहरुले चांिह बाँसुरीको त्यो बेलामा आविस्कार नै भएको थिएन, त्यसको त ११ औं शताब्दीतिर मात्रै आविस्कार भएको हो भन्ने तर्कपनि गरेका छन् । जे भएपनि उनले एउटा काठको भाँडो जहाँ तार राखेर बजाउने गर्थे रे भन्ने कुरा पनि छ । चुरो कुरो चाहिं उनी जस्तोसुकै संकटको बेलामा पनि अलमस्त भएर बस्ने रे ।

अहिले नेपालमा पनि शासकहरुको अवस्था हेर्दा त्यस्तै अलमस्त पाराको देखिएको धरहरा वरपर चर्चा चल्न थालेको छ । चुनाव नभए मुलुक महासंकटतिर उन्मुख छ, भूकम्प पीडितहरु चीसोले कठाग्रिएर ज्यान गुमाउनुपर्ने अवस्थामा छन्, कालोबजारी, भ्रष्टाचार , अनाचार ,बेथिती कहालिलाग्दो छ । तर, सत्तामा रहनेहरु केही नभएजस्तो हाँसीखुसी हिंडिरेका हुन्छन् । अझ मन्त्री जाँदा हुने युएई टुरमा प्रधानमन्त्री दौडन्छन् । नयाँ मन्त्रीहरु थपिन्छन्, माला लगाएर रमाएको फोटो प्रदर्शनी गरेको देखिन्छ । जनता आफैंलाई गिज्याएको भन्ने ठान्छन् । छुटटै मधेश भन्दै खुलेआम नाराबाजी भइरहेको छ । सरकार देखेको नदेखेकै गर्छ ।

त्यसैले नीरोको नयाँ संस्करण सन् २०१७को नेपालमा जन्मेको हो कि के हो भनेर धरहरा छुऊमै आएर थुप्रैले प्रश्न वर्षाइरहेका छन् । धरहरालाई चाहिं पुनर्जन्ममा त्यति विश्वास नभएकोले यसै हुन्छ भनेर जवाफ दिन सकेको छैन । पाठकबृन्दलाई यसबारेमा केही थाहा भएमा बताइदिनुस न है प्लिज !

प्रतिक्रिया दिनुहोस्