नेपाली शब्द मिसाएर देविकाले गाइन् हिन्दी गीत गीत छायो भारतीय रेडियोमा



विदुर गिरी
नेपाली कलाकार विदेशीभन्दा कुनै हिसाबले कम छैनन् भन्ने कुरा गायिका देविका वन्दनाले फेरि एकपटक पुष्टि गरेकी छिन्। जादुमयी स्वरका कारण भारतीय संगीत व्यवसायीको नजरमा परेर बोलाइएकी उनले मुम्बई पुगेर हिन्दी गीतमात्र गाइनन्, स्वरकलाको भरपुर प्रशंसा पाइन्। सँगै हिन्दी गीतका लागि बोलाइएकी उनले त्यसमा नेपाली शब्द मिसाएर भारतीयमाझ नेपाल चिनाउने कोसिस पनि गरिन्।

देविकाको मखमली स्वर सुनेर भारतकै प्रतिष्ठित जी म्युजिक कम्पनीले उनलाई हिन्दी गीत गाउन लगाएको हो। भारतमै बसेर गीत रचना र संगीत निर्देशनको काम गर्दै आएका युग भुसालमार्पmत जी म्युजिक कम्पनीबाट बोलाइएकी देविकाले संगीत र म्युजिक भिडियोको काम यतै गर्छु भन्दै भुसालद्वारा रचि वश तेरा नाम बोलको गीत गाएकी हुन्। कुनाल गञ्जावालासँगको यो युगल गीत गायनका लागि देविकाले राजन इशानलाई प्रोग्रामिङ गराइन् भने संगीतकार दाजुभाइ विजेश र मनिष पौडेललाई संगीत भराइन्। अनि त्यसमा नेपाली शब्द मिसाइन् कान्छाले कान्छीलाई हेर बोलायो, शुसेली हालेर लैबरी लैबरी लै। ‘नेपाललाई चिनाउनका लागि हिन्दी गीत भए पनि त्यसमा नेपाली शब्द पनि प्रयोग गरेँ। कान्छाले कान्छीलाई हेर बोलायो, शुसेली हालेर लैबरी लैबरी लै शब्द थपेपछि गीतमा मिठास त बढेको छ नै’ देविकाले नेपाल समाचारपत्रसँग कुरा गर्दै भनिन्– ‘भारतीयले पनि मन पराएका छन्।’

यो गीतको संगीत र एरन्जमेन्टलगायतको कार्य नेपालमै गरिए पनि रेकर्डिङका लागि भने जी म्युजिकले देविकालाई मुम्बईमा बोलाएको थियो। ‘जी म्युजिकले गीत रेकर्डका लागि मुम्बई बोलाइएपछि त्यहाँ गएर कैलाश खेरको स्टुडियोमा रेकर्डिङ गराएँ। रेकर्डिङका क्रममा जी म्युजिक कम्पनीको टिमले तपाईंको भोकल एक्स्ट्रा रहेछ। इन्डियन सिंगर कोहीसँग पनि मिल्दैन भनेर तारिफ गर्दा खुसी लाग्यो’ –देविकाले सुनाइन् ‘यो मेरो लागि मात्र नभई नेपाली गायन क्षेत्रकै लागि पनि राम्रो अवसर र क्षण भएको महसुस मैले गरेकी छु यो गीतमाथिको म्युजिक भिडियो नेपालकै विभिन्न मनोरम स्थलमा छायांकन गरिएको छ। विजेश पौडेलले निर्देशन गरेको म्युजिक भिडियो जोमसोम, मार्फा, कागवेनीजस्ता मनोरम र आकर्षक स्थानमा प्रमोद कार्कीद्वारा खिचिएको म्युजिक भिडियोको सम्पादन भने मुम्बईमै गरिएको हो। ‘जी म्युजिकले म्युजिक भिडियो नेपालमा खिचे पनि मुम्बईमै सम्पादन गर्नुपर्छ भनेको थियो। त्यसैले सम्पादन उतै गरिएको हो। भिडियोका सम्पादक सोनु गुप्तालगायतले भिडियो हेरेर यो स्वीजरल्यान्डमा सुटिङ गरेको हो भनेर सोध्दा अत्यन्तै गर्व लाग्यो। उनीहरु भिडियोमा देखिएका नेपालका सिनहरु हेरेर यति प्रभावित भए कि हामी पनि अब अरु प्रोजेक्ट लिएर नेपाल आउँछौं भनेका छन्’ देविकाले खुसी हुँदै भनिन् ‘एउटा भिडियो हेरेर अरु प्रोजेक्टका लागि भारतीय टिम नेपालमा आए यसको थप सफलता हुनेछ।’ म्युजिक भिडियोमा नेपालका मोडल प्रत्युषमान सिंह वैद्य र मुम्बईकी मोडल विना हसनले मोडलिङ गरेका छन्।

यो गीत र यसको म्युजिक भिडियोलाई जी म्युजिक कम्पनीले शुक्रबारमात्र युट्युब र भारतीय एफएमहरुबाट सार्वजनिक गरेको छ। पहिलो दिन नै भारतका विभिन्न सञ्चार माध्यममा छाएको यो म्युजिक भिडियो भारतीय टेलिभिजन च्यानलहरुमा भने एक सातापछि मात्र प्रसारणमा आउनेछ। यो गीत र यसको म्युजिक भिडियोसँगै देविकाको हिन्दी गीत गायन यात्रा लम्बिने संकेत यसले देखाएको छ। वश तेरा नाममा देविकाले भरेको स्वरबाट प्रभावित भई जी म्युजिकले उनको स्वरमा अर्को गीत पनि रेकर्ड गराएको छ। पेहेली पेहेली बोलको यो एकल गीतको सम्पूर्ण काम भने मुम्बईमै भएको छ। युग भुसालकै गीतरचना र संगीत रहेको यो गीत कैलाशकै स्टुडियोमा रेकर्डिङ गरिएको छ। देविकाका अनुसार यसको म्युजिक भिडियो पनि नेपालमै हुनेछ। आगामी मार्चमा रिलिज गरिने गीतको म्युजिक भिडियोको सुटिङ आगामी फागुन चैतमा गरिने देविकाले जानकारी गराइन्।

प्रतिक्रिया दिनुहोस्