आलियाद्वारा आमिरको हिरोइन बन्न अस्वीकार !



बलिउड सुन्दरी आलिया भट्टले के गर्न खोजिरहेकी छिन् भन्ने विषयलाई लिएर बलिउड फिल्म उद्योगमै अनेकखाले चर्चा परिचर्चा हुन थालेको छ। केही समयअघि मात्र सञ्जय दत्तको छोरी बन्न अस्वीकार गरेकी यी सुन्दरीले अहिले अर्को एउटा फिल्म पनि खेल्न नमानेपछि यस्तो चर्चा परिचर्चा शुरु भएको हो।

यशराज फिल्म्स्ले निर्माण गर्न लागेको फिल्म ठग्स अफ इन्डियाका लागि अमिर खान र अमिताभ बच्चन फाइनल भइसकेका छन्। तर, आलियाले सो फिल्ममा खेल्न नमानेपछि उनको ठाउँमा अर्को हिरोइन खोज्ने काम जारी रहेको समाचारमा उल्लेख छ। भनिन्छ कि अमिर खान यस फिल्ममा आफ्नो साथ आलिया भट्टलाई देख्न चाहन्थे। तर, आलियाले भने फिल्मको सुटिङका लागि आवश्यक पर्ने समय नै नभएको भन्दै सो फिल्ममा खेल्न मानिनन्।

आलियाको फिल्म खेल्न गरेको अस्वीकारले वाणी कपुरलाई भने फाइदा पुग्न सक्छ। वाणीप्रति निर्माता आदित्य चोपडा दयालु देखिएका छन्। वाणीका लागि उनले दुई फिल्म शुद्ध देसी रोमान्स र बेफिक्रे बनाएका थिए। तर, ती दुवै फिल्मले वाणीलाई अगाडि बढाउन सकेन। आदित्य अब वाणीलाई ठूलो अवसर दिन चाहन्छन्। समाचारमा जनाइएअनुसार उनी ठग्स अफ इन्डियामा अमिरको हिरोइनका रूपमा वाणीलाई उभ्याउने विचार गर्दै छन्।

फिल्मसँग जोडिएको सूत्रलाई उद्धृत गर्दै समाचारमा जनाइएअनुसार अमिर भने वाणीसँग फिल्म गर्न असहमत छन्। उनी यस्तो हिरोइनसँग काम गर्न चाहन्छन् कि जसको स्टार भ्यालु होस्। अहिले आदित्य अमिरलाई मनाउन व्यस्त रहेको समाचारमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्