रंगकर्मी थापा सम्मानित २ नाटक भिडियोमा सार्वजनिक



रंगकर्मी हरिबहादुर थापा आइतबार राजधानीमा आयोजित एक कार्यक्रका बीच सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले हरेक वर्ष साहित्यको विभिन्न विधामा योगदान पुर्यावापत प्रदान गर्ने सम्मानबाट यस वर्ष रंगकर्मी थापालाई सम्मान गरिएको हो। उनी नेपाली नाट्य क्षेत्रलाई लामो समयसम्म आफ्नो कला र सेवामार्फत योगदान पुर्याएवापत सम्मानित भएका हुन्। यसै अवसरमा थापाको निर्देशनमा तयार भएको जोडियोस भत्किएका मनहरु र पाइलाहरु नामक दुई नाटक समावेश भीसीडी पनि सार्वजनिक गरिएको छ।

एल्बम राष्ट्रकवि माधवप्रसाद घिमिरे र संस्कृतिविद सत्यमोहन जोशीले विमोचन गरेका हुन्। यसैक्रममा थापाको बारेमा तयार पारिएको राजेन्द्र सुलभद्वारा निर्देशित एक भिडियोसमेत प्रदर्शन गरिएको थियो। सम्मानित भएपछि मन्तव्य थापाले आफूमा स्कुले जीवनदेखि नै कलाकर्मको भावना अं्कुराएको खुलाए। ‘पहिलेदेखि नै कलाकर्ममा रुचि भएकाले २०२८ सालमा नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रशिक्षार्थीका रूपमा गएदेखि नै यही क्षेत्रमा निरन्तरता दिँदै आएको छ’। रंगमञ्चको पीडा रंगमञ्चमा लागेकोलाई नै थाहा हुन्छ र त्यसको फल समयले दिन्छु, –उनले भने।

त्यस्तै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीले लामो समयसम्म अमेरिका बसेर बेलाबेला नेपाल आइरहने र नेपाली नाटकलाई पहिलो चोटी अमेरिकाको ब्रोड वे थिएटरमा आफ्नो निर्देशन र चाँजोपाँजोमा मञ्चन गरी अन्तर्राष्ट्रियस्तरसम्म पुर्याउने पहिलो व्यक्तिका रूपमा थापालाई सम्मान गरेकोमा खुसी व्यक्त गरे।

त्यसै गरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रकवि माधवप्रसाद घिमिरेले नेपाल प्रज्ञा प्रतिष्ठानले आफ्नो स्थापना कालदेखि नै नाटकको क्षेत्रमा निकै योगदान दिँदै आएको चर्चा गर्दै त्यहीभित्रका एक व्यक्ति थापाले नाटक क्षेत्रलाई अगाडि बढाउन निकै नै योगदान दिएको बताए। ‘आफ्नै नाटकको चर्चा गर्नु यहाँ उचित नहोला, तर पनि मालती मंगले र सकुन्तलामा हरिबहादुरजीले निकै सजीव र जीवन्त अभिनय गर्नुभएको छ। आज यसै कार्यक्रममा मालती मंगलेको नायक नायिका कलाकार र निर्देशकलाई एकै मञ्चमा देख्दा निकै खुसी छु ,उनले भने।

यसै गरी संस्कृतिविद सत्यमोहन जोशीले नाटक विधामा यस्तो समारोह पहिलोपटक भएको देख्न पाएकोमा खुसी व्यक्त गर्दै केही समयअघि अमेरिका बस्दा त्यतै नेपाली समूह लगेर नाटक प्रस्तुत गरेका हरिबहादुरले जहाँ गए पनि नेपाली नाट्य क्षेत्रलाई उकास्न मद्दत गर्ने गरेको बताए ‘अब उहाँ केही समयपछि अस्ट्रेलिया जाँदै हुनुहुन्छ। उता गए पनि यस क्षेत्रका लागि राम्रो काम गर्नुहुन्छ भन्ने विश्वास लिएको छु –उनले भने।

यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा उप्रेतीले थापाले नेपाली नाट्य क्षेत्रमा निरन्तर रूपमा करिब ५ दशकसम्म निष्ठाका साथ योगदान दिएको चर्चा गर्दै विमोचित नाटकको सीडीले पनि नेपाली नाटक क्षेत्रमा योगदान दिने बताए। ‘हरिबहादुरजीसंग मैले लामो समय काम गर्ने मौका त पाइनँ, तर नेपाली नाट्य क्षेत्रलाई यो स्थानसम्म ल्याउनका लागि उहाँको विशेष योगदान छ’, –उनले भने।

त्यसै गरी नाट्यकर्मी अशेष मल्लले आफूलाई थापाको साथ नभएको भए नेपाल प्रज्ञा प्रतिष्ठानको जागिरमा आफूलाई निकै अप्ठेरो हुने भन्दै नाटकको कुनै अभिलेख नहुने बेलामा थापाले सीडीमा पहिलोचोटि नाटक ल्याएकोमा यो प्रविधि नाटक क्षेत्रलाई निकै उपयोगी हुने विश्वास व्यक्त गरे।

नेपाल प्रज्ञा प्रतिष्ठानमा ४२ वर्षे रङ्गकर्मीको जागीरे जीवन व्यतित गरेका थापाले पृथीवीनारायण शाह, मालती मंगले, सकुन्तला, मसान, अन्धवेग विष्णुमायाजस्ता नाटकहरुमा अभिनय गरेका थिए भने गीतिनाटक मालतीमंगले उनले अभिनय गरेको नाटकहरुमध्ये चर्चित नाटक हो। २०७२ सालमा अमेरिकाको न्युयोर्कस्थित अफ ब्रोड वे ७७७ नाट्यशालामा अशेष मल्लद्वारा लिखित जोडियोस भत्किएका मनहरु नामक नाटक निर्देशन गर्नुका साथै सूत्रधारका रूपमा अभिनयसमेत गरेका थिए। उनी हालसम्म दर्जनौं पुरस्कारद्वारा सम्मानित भएका छन्।

प्रतिक्रिया दिनुहोस्