लमजुङमा गुञ्जियो झरनाको चिसो पानी



लमजुङ, (नेस)। लमजुङमा आयोजित कार्यक्रममा लोकगायक जीवन शर्माको गायनमा दर्शकहरू मन्त्र मुग्ध भए र उनीसँगै गीत गाएर साथ दिँदै रमाए। जिल्ला सदरमुकाम बेसींशहर १२ स्थित युनिभर्सल एकेडेमीको १३औँ वार्षिकोत्सवको समारोहमा शर्माले २ पटक गरेर झण्डै दर्जन गीत गाएर तहल्का मच्चाए।

आफ्नो गायनका क्रममा अन्तिममा उनले आफ्नो बहुचर्चित गीत झरनाको चिसो पानी गाउँदा दर्शक दीर्घाबाट वान्स मोर भन्ने आवाज धेरै बेरसम्म गुज्जी रह्यो। बेसींशहरको सार्वजनिक समारोहमा झण्डै दशकपछि शर्मा झुल्किएको कारण पनि दर्शकहरूको बाक्लो उपस्थिति थियो। उनले शुरूमा राष्ट्रवादी गीत मधेसी, पहाडी, हिमालका हिमाली, कयौँ जाति जनजाति हामी सबै नेपाली गाउँदा धेरैले उनलाई साथ दिएका थिए।

गायनकै क्रममा उनले ‘गणतन्त्र आउँदा पनि तपाईं हामी र यो देश किन दुःखी भइरहेको छ? खोज्नुपर्नेछ, मैले पनि खोजिरहेको छु र तपार्इं पनि खोज्नुहोला’ भन्दै दर्शकलाई अनुरोध गरेका थिए। त्यो अनुरोधसँगै त्यससँग मिल्दो गीत आकाशमा बादलु छैन, पानी पर्यो करेली पातैमा तथा तिम्रो आँखा ओभानो छैन, कल्ले पार्यो माकुरी जालैमाजस्ता गीत गाउँदा पनि दर्शकको अपार साथ पाएका थिए।

यसै गरी, उनले अन्तिममा सुकेर जाँदैन, रोकेर रोकिँदैन, भारी बोक्ने खेतालोको यही हो जिन्दगानी गाउँदा निकैबेरसम्म वान्समोरको आवाज दर्शकदीर्घामा गुञ्जिरहेको थियो। सो समारोहको पर्यटन तथा संस्कृति पूर्वमन्त्री एवम् एमालेका केन्द्रीय सचिव पृथ्वीसुब्बा गुरुङले शुभारम्भ गरेका थिए। कार्यक्रममा सांसद जमिन्द्रमान घले, कांग्रेसका जिल्ला सभापति भेषबहादुर पौडेल, प्याब्सनका जिल्ला अध्यक्ष तारानाथ घिमिरेसहितले शुभकामना मन्तब्य व्यक्त गरेका थिए।

विद्यालयका प्रिन्सिपल विमल अधिकारीले प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम सोही विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल प्रेम रम्तेलले गरेका थिए भने विद्यालयका निर्देशन कृष्ण गुरुङले स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्