कालो पोथीले मार्यो बाजी



धरानमा आयोजित इन्टरनेसलन फिल्म फेस्टिबल अफ नेपाल २०१७ अन्र्तगतको अन्तर्राष्ट्रिय विधातर्फ गौतम बुद्ध बेस्ट फिक्सन फिल्म अवार्ड कालोपोथीले चुमेको छ। विभिन्न सात देशका नौ फिल्मलाई पछाडि पार्दै मीनबहादुर भामद्वारा निर्देशित कालोपोथीले बेस्ट फिक्सन फिल्मको अवार्ड चुमेको हो। यो फिल्मले ट्रफीसहित एक हजार अमेरिकी डलर जितेको छ।

अखिल नेपाल चलचित्रकर्मी संघद्वारा धरानमा आयोजित पाँच दिने महोत्सव आइतबार सम्पन्न भएको हो। महोत्सवमा इन्टरनेसलन डकुमेन्ट्रीतर्फको पाँच सय डलरसहितको बेस्ट एभेरस्ट अवार्ड रसियन बृत्तचित्र ब्ल्यँक सिटले जितेको छ। बृत्तचित्र यसकी निर्देशकको दैनिकीको आधारमा तयार पारिएको थियो।
यस्तै इन्टरनेसलन सर्ट फिल्मतर्फको तीन सय अमेरिकी डलरसहितको बेस्ट रारा अवार्ड भारतको सामुदायिक लघू फिल्म जादुई मछ्लीले जितेको छ। स्थानीय माझी समुदायले माछा मार्दै आएको नदीलाई ठेक्कामा लगाएपछि त्यसका विरुद्ध उनीहरुले गरेको संघर्षको कथा समेटिएको यो लघू फिल्म तिनै माझी समुदायले निर्माण गरेका थिए।

यस्तै नेपाल पानोरमातर्फको अवार्डमा उत्कृष्ट फिल्मको अवार्ड बालकृष्ण समले जितेको छ। दिनेश पाल्पाली निर्देशित फिल्मले ५० हजार रुपियाँसहित श्रीजंगा अवार्ड जित्यो। नेपाल पानोरमातर्फकै उत्कृष्ट बृत्तचित्रको अवार्ड सचिन घिमिरे र गौरब केसी निर्देशित बृत्तचित्र म अलप हुन चाहन्छुले जितेको छ। मानवशास्त्री डोरबहादुर विष्टको जीवनीमा आधारित यो फिल्मले ३० हजार रुपियाँसहित रामप्रसाद राई अवार्ड जितेको छ। नेपाल पानोरमार्फ नै २० हजार रुपियाँसहितको चतुरमान राजवंशी उत्कृष्ट लघू् फिल्मको अवार्ड सेनाङ ग्याम्जो तामाङ निर्देशित लघू फिल्म झालोले जितेको छ। यो फिल्म हिँसाविरुद्धको बुद्ध सन्देशमा केन्द्रित थियो।

समारोहमा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले यस्तो अन्तर्राष्ट्रिय फिल्म फेस्टिबलले फिल्म संस्कृति आदानप्रदानमा सहयोग पुग्नुका साथै फिल्मको विकास हुने विश्वास व्यक्त गरे।

महोत्सवका स्थानीय संयोजक एवं चलचित्र निर्देशक दीपक श्रेष्ठले धरान फिल्म कला संस्कृतिको शहर भएकाले पहिलो अन्तर्राष्ट्रिय महोत्सव धरानमा गरिएको जानकारी गराए। यस्तै महोत्सव आयोजक संस्था अखिल नेपाल चलचित्रकर्मी संघका अध्यक्ष केपी पाठकले प्रदेश नम्बर–१ को धरानबाट शुरु गरिएको यो महोत्सवलाई सात वर्षभित्र मुलुकका सातवटै प्रदेशमा आयोजना गरिने जानकारी गराए। महोत्सवमा विभिन्न १६ देशका ४८ फिल्म सहभागी भएको र यसबाट नेपाली फिल्मकर्मीले अन्तर्राष्ट्रिय फिल्मबाट सिक्ने अवसर पाएको जानकारी गराए। त्यस्तै अर्का आयोजक डब्बु क्षत्रीले पाँच दिने महोत्सवमा सहभागी स्वदेशी तथा विदेशी फिल्मकर्मीबाट यो क्षेत्रमा नयाँ उर्जा भरिएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्