फेसन प्रतियोगिता हुँदै



क्लासिक डायमन्ड ज्वेलर्सले फेस अफ क्लासिक डायमन्ड नामक प्रतियोगितात्मक फेसन शोको चौथो संस्करण आयोजन गर्ने भएको छ। सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा क्लासिक डायमन्डका अमिर महर्जनले नव मोडलहरुको प्रतिभा उजागरका लागि चौथो संस्करणस्वरुप सो प्रतियोगिता आयोजना गर्न लागेको बताए।

उनका अनुसार पोखरा काठमाडौं र ललितपुरमा अडिसन गरी त्यसबाट चयन भएका सुन्दरीहरुलाई अन्तिम प्रतिस्पर्धामा उतारिनेछ भने काठमाडौं र पोखराका विभिन्न ठाउँहरुबाट फर्म वितरण हुनेछ। माघ २२ गते पोखरास्थित होटल बाराहीमा प्रतिस्पर्धीहरुबीच अडिसन हुनेछ भने माघ २९ गते काठमाडौंमा अडिसन हुनेछ। त्यस्तै फागुन ७ गते पोखराबाट अडिसनमा आएका प्रतिस्पर्धीमध्ये उत्कृष्ट ५० को घोषणा काठमाडौँमा गरिनेछ।

प्रतिस्पर्धीहरुको अनलाइन कम्पिटिसनका लागि फागुन ९ गते क्याजुअल र १० गते ब्रँइडल फोटासुट फोटोग्राफर राजभाई सुवालले गर्नेछन् भने ११ देखि १४ गतेसम्म अनलाइन भोटिङ खुल्ला गरिनेछ। यस्तै १५ गते काठमाडौंको होटेल याक एन्ड यतिमा हुने अन्तिम स्पर्धामा विजेता घोषणा गरिनेछ।

फोटोग्राफर राजभाइ सुवाल, पूर्व मिस नेपाल इभाना मानन्धर र मोडल तथा पूर्व मिस टुरिजम वल्र्ड नेपालको टाइटल विनर समृद्धि राई निर्णायक रहने प्रतियोगिताको विजेताले ५० हजार नगद र ५० हजार बराबरको क्लासिक डायमन्डको उपहारका साथमा ब्रान्ड एम्बेसडर बन्न पाउनेछन् भने फस्ट रनर्सअपले २५ हजार नगद र २५ हजार बराबरको ज्वेलरी पाउनेछन्। त्यसै गरी सेकेन्ड रनर्सअपले १२ हजार ५ सय नगद र सोही बराबरको ज्वेलरी पाउनेछन्।

प्रतियोगिताको उत्कृष्ट ५ मा पर्ने प्रतियोगीहरुले नगद १५ हजारका साथै अप्रिलमा हुने टाइमलेस प्यारागन ज्वेलरी फेसन सो २०१७ मा भारतीय सेलिब्रेटीको साथ र्याम्पमा उत्रने मौका पाउनेछन्। पहिलो फेस अफ क्लासिक डायमन्ड २०१४ को विजेता नायिका ओसिमा बानु थिइन् भने २०१६ कि मिस नेपाल अस्मि श्रेष्ठ फेस अफ क्लासिक डाइमन्ड २०१५ कि विजेता थिइन्। त्यस्तै नायिका परमीता राणा र साम्राज्ञी राज्यलक्ष्मी शाह पनि यही प्रतियोगिताका रनरअप थिए।

पत्रकार सम्मेलनमा कार्यक्रमका संयोजक तथा हास्य अभिनेता किरण केसीले यो प्रतियोगिताबाट देशले पुनः प्रतिभावान् मोडल पाउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्