सिन्धुलीका गाउँ–गाउँमा कलायात्रा



ग्रामीण क्षेत्रमा कला जागरण तथा आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित ६ दिने दुम्जा कला यात्रा २०७३ सम्पन्न भएको छ।

गत पुस २४ देखि २९ गतेसम्म चलेको कला यात्रामा कलाकार सुरेम देशारको संयोजकत्वमा पाँच जना कलाकार सहभागी भएका थिए, कठिन भौगोलिक अवस्थाका बीच पनि सफलतापूर्वक कलायात्रा सम्पन्न भएको संयोजक देशारले जानकारी गराए।

धरणीधर स्मृति पुस्तकालयद्वारा आयोजित कला यात्रामा सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, सुरेन्द्रराज अधिकारी र राजेन्द्र देशार सहभागी थिए। कलायात्राका लागि मू्र्तिकार राजेन्द्र देशारले सरस्वतीको मूर्ति निर्माण गरेका थिए भने अन्य कलाकारले कुशेश्वर दुम्जाको विभिन्न भागमा पुगी प्राकृतिक सौन्दर्य, भूकम्पपछिको जनजीवन, दैनिकी, अवस्था, जनजीवनलगायत विषयमा १६ वटा चित्रकला तयार पारेका थिए।

कुशेश्वर दुम्जा–५ बालुवाटारस्थित देवीस्थानबाट शुरु भएको कलायात्रा रुपटार, ध्याम्पाटार, बसेंरी, ओख्रेनी, दोभानडाँडा, काफ्लेचौर, ओध्रेकोट, हायूगाउँ, ज्यामिरे, सिमलचौर, दारिमबोट, उपल्लाथोक, माझथोक, पानीपोखरी, अँँपघारीमा पुगेर सम्पन्न भएको थियो।

कलायात्राका क्रममा कलाकारहरुले देवीस्थान माध्यमिक विद्यालय, जनजागृत प्रावि, पञ्चकन्या निमावि, कुशेश्वर विद्यापीठ माविमा पुगेर विद्यार्थीसँग कलाबारे अन्तरक्रिया गरेका थिए। त्यसै गरी गाउँगाउँमा चित्रकलाको प्रदर्शन गरी कलाकारहरुले गाउँलेसँग कलाबारे छलफल गरेका थिए।

कलायात्राका लागि तयार पारिएका चित्रकला आगामी माघ २४ गते जागरणकवि धरणीधर कोइराला जयन्तीका दिन दुम्जामा नै प्रदर्शन गरिने धरणीधर स्मृति पुस्तकालयले जानकारी गराएको छ।

प्रतिक्रिया दिनुहोस्