दिउँसै मातिन्छन् विश्वविद्यालयका कर्मचारी



प्रशान्त वली, दाङ
मितिः २०७३ पुस २० गते
स्थानः नेपाल संस्कृत विश्वविद्यालय केन्द्रीय कार्यालय, बेलझुण्डी दाङ
समयः बिहान १०ः३० बजे

नेपालकै एक मात्र पुरानो संस्कृत विश्वविद्यालयमा पुग्दा त्यहाँ सुनसानजस्तै देखिन्थ्यो। संस्कृत भाषाको संरक्षण, प्रवद्र्धन, पठनपाठन र प्रचारप्रसारको भूमिका निर्वाह गर्ने स्वायत्त संस्था संस्कृत विश्वविद्यालयको केन्द्रीय परिसरमा पुग्दा न त कर्मचारी समयमा पुगेका थिए, न त त्यहाँको वातावरण विश्वविद्यालय जस्तो देखिन्थ्यो।

कर्मचारीको काम सेवाग्राहीलाई सहज तरिकाले सेवा प्रवाह गर्ने हो। धेरै समय बितिसक्दा पनि सेवाग्राही आएको देखिएन। केही समय बितेपश्चात् विश्वविद्यालय परिसर पुगेका कर्मचारीहरू घाम तापेर बसिरहेका थिए, खरीदारदेखि प्रशासकसम्म। उनीहरूलाई कुनै जिम्मेवारीबोध भएजस्तो देखिँदैन थियो। तत्कालीन शिक्षामन्त्री दीनानाथ शर्माले दीक्षित गरेदेखि अहिलेसम्म विश्वविद्यालयमा दीक्षान्त समारोहसमेत हुन सकेको छैन।
विश्वविद्यालयको विकासका लागि योजना बुनेको देखिएको छैन। बनाए पनि कार्यान्वयन भएको देखिँदैन। कहिले कर्मचारी नियुक्तिमा राजनीतिक भागबण्डा नमिल्दा आन्दोलन हुन्छ त कहिले कर्मचारीहरू जिम्मेवार नबन्दा आन्दोलन। विश्वविद्यालयमा तीन वर्षअघि विभिन्न १३ पदमा विज्ञापन खोलियो। ६ सय बढीले फर्म भरे। त्यो फर्म कहाँ छ? फर्मबापतको पैसा कहाँ छ?

विश्वविद्यालयलाई विज्ञापनको नतिजा कहिले निकाल्ने भन्ने कुनै अत्तोपत्तो नै छैन। अहिले नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीलाई कतिपयले तालाझुण्डीका रूपमा समेत चित्रण गर्ने गरेका छन्।

संस्कृत विश्वविद्यालयमा संस्कृत भाषाको पढाइ हुनुपर्ने संस्कृतिको रक्षाका लागि पहल कदमी हुनुपर्ने हो। तर, अहिले त्यहाँ न सहज तरिकाले पढ्ने वातावरण बनेको छ, न त पढाइ नै उपर्युक्त ढंगबाट हुन्छ। विश्वविद्यालयमा १ हजार प्राध्यापक र ३ हजारभन्दा बढी विद्यार्थी रहेका छन्। विद्यार्थी संख्याको आधारमा प्राध्यापक संख्या बढी रहेको अखिल क्रान्तिकारी दाङका अध्यक्ष सन्तोष पोख्रेलले बताउनुभयो। विश्वविद्यालयमा पढ्ने वातावरण उपर्युक्त नभएको र परीक्षाको समयमा परीक्षा नै स्थगित हुने गरेको विद्यार्थी गणेश अधिकारीले बताउनुभयो। विश्वविद्यालयमा राजनीति हाबी हुँदा विद्यार्थी संख्या घट्दै गएको विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला स्विकार्नुहुन्छ। अहिले २३ वर्षदेखि विश्वविद्यालयमा पुरानै प्रकृतिको पाठइ्क्रममा पढाइ भइरहेको छ।

पाठ्यक्रम परिमार्जन नहुँदा विद्यार्थीहरूलाई समयअनुकूल शिक्षा प्राप्त गर्नबाट बञ्चित हुनुपरेको छ। स्थानीयहरूले कर्मचारीहरू मादकपदार्थ सेवन गरेर कार्यालय जाने गरेको गुनासो गरेका छन्। मादक पदार्थ सेवन गरेर कार्यालय जाँदा कर्मचारीहरूले आफ्नो उत्तरदायित्व भुल्ने स्थानियको गुनासो छ। यस विषयमा विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई जिज्ञासा राख्दा लिखित रूपमा प्रमाणसहित उजुरी आए कारबाहीको प्रकृया अघि बढ्ने भन्दै अहिलेसम्म कुनै कर्मचारीको विषयमा उजुरी नपरेको बताउनुभयो।

नेपाल संस्कृत विश्वविद्यालयसँग ३ हजार ६ सय विगाहभन्दा बढी जग्गा छ। यद्यपि सो जग्गामध्ये केही भाडामा नेपाल पतञ्जली टस्ट मण्डीखाटारलाई दिने तयारी थालिएको छ। त्यसका लागि विश्वविद्यालय सभामा जानकारीपत्रसमेत पठाइसकिएको विश्वविद्यालय स्रोतले बताएको छ। विश्वविद्यालयले जग्गा दिएबापत देउखुरीमा जडिबुटि उद्यान केन्द्र, गुरुकूल शिक्षालय पतञ्जली आर्युवेदले खोलीदिने मौखिक कुरा चलिसकेको बताइएको छ। २ सय बिगाह जग्गा दिएबापत विश्वविद्यालयले प्रति बिगाह वार्षिक रूपमा १० हजार रूपियाँ पाउने ट्रस्टसँग मौखिक कुरा भएको विश्वविद्यालय सेवा आयोगका लेखा अधिकृत कमल पोख्रेलले जानकारी दिनुभयो। विश्वविद्यालयको जग्गा किन अन्य संस्थालाई दिन लागेको भन्ने जिज्ञासा राख्दा विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइराला भन्नुहुन्छ –‘जग्गा दिने कुरा मौखिक मात्रै चलेको हो। आधिकारीक होइन।

शिक्षाध्यक्षको अध्यक्षतामा जग्गा व्यवस्थापनका लागि समिती गठन गरेका छौं। मेरो प्रमुख काम भनेकै विभिन्न कित्तामा रहेको विश्वविद्यालयको जग्गा एकिकृत गर्ने हो। यसका लागि काम अघि बढिरहेको छ। अहिले विश्वविद्यालयको जग्गाबाट भाडासमेत उठ्न सकेको छैन। जग्गा लुटेर खाने प्रवृत्ति बढेर गयो। आयमूलक काममा उपयोग गराउन जग्गा दिने मौखिक कुरा चलेको मात्रै हो।’ देउखुरीमा रहेको १ हजार ३ सय २६ विगाह जमिन र बेलझुण्डीमै रहेको ३ सय ३६ विगाह जमिन वैज्ञानिक तवरबाट भोगचलन हुन पाएको छैन।

प्रतिक्रिया दिनुहोस्