इस्लामाबाद।
पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फराबादमा पाकिस्तानी सेनाको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबैको मृत्यु भएको छ। पाकिस्तानी सेनाको जनसम्पर्क निकाय (आईएसपीआर) ले दुर्घटनाको पुष्टि गरेको हो।
प्रारम्भिक जानकारीअनुसार एमआई–१७ हेलिकप्टर उडान भर्ने क्रममा प्राविधिक समस्याका कारण दुर्घटनामा परेको बताइएको छ। दुर्घटनालगत्तै उद्धार टोली घटनास्थलमा परिचालन गरिएको सेनाले जनाएको छ।
पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै दुर्घटनाको कारण पत्ता लगाउन छानबिन समिति गठन गरिएको जनाइएको छ।
स्थानीय प्रशासनका अनुसार दुर्घटनामा हेलिकप्टरका दुवै पाइलटको मृत्यु भएको छ भने अन्य सवारहरूको पनि ज्यान गएको आशंका गरिएको छ। यद्यपि मृतकको यकिन संख्या भने सार्वजनिक गरिएको छैन।
दुर्घटना मुजफ्फराबादस्थित नीलम रंगशाला क्षेत्र नजिक भएको बताइएको छ। हेलिकप्टर दुर्घटनापछि ठूलो विस्फोटको आवाज सुनिएको र घटनास्थलबाट बाक्लो धुवाँ उठेको स्थानीयवासीले बताएका छन्।
घटनापछि सुरक्षा निकाय र उद्धारकर्मीहरू प्रभावित क्षेत्रमा खटिएका छन् भने दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। बीबीसी











प्रतिक्रिया