काठमाडौँ।
परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा सम्बन्धी विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिबारे प्रतिनिधिसभामा स्पष्टिकरण दिएका छन्। उनले नेपालले भारतको भूमि मिचेको भन्ने अर्थमा नभई दुवै देशका सीमावर्ती क्षेत्रमा ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमापार अतिक्रमणका घटना देखिने गरेको बताएका हुन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खनालले सीमा क्षेत्रमा दशगजा अतिक्रमण, खेतीपाती तथा बसोबासका कारण दुवैतर्फबाट सीमासम्बन्धी जटिलता देखिने गरेको उल्लेख गरे। यस्ता समस्या समाधानका लागि नेपाल र भारतबीच निरन्तर संवाद र सहकार्य भइरहेको उनको भनाइ थियो।
उनले सीमा विवादका विषयहरू ऐतिहासिक तथ्य, प्रमाण, नक्सा तथा कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। साथै, दुई देशबीचका सीमा समस्याको समाधानका लागि तेस्रो पक्षलाई संलग्न गराउने सरकारको कुनै नीति नरहेको स्पष्ट पारे।
परराष्ट्रमन्त्री खनालले लिपुलेक, लिम्पियाधुरा र कालापानीलगायतका क्षेत्र नेपालको अभिन्न भूभाग भएको विषयमा सरकारको अडान यथावत रहेको दोहोर्याए।
प्रधानमन्त्री बालेन्द्र शाहले जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा “भारतले मात्र होइन, नेपालले पनि भारतको भूमि मिचेको जानकारी आफूले पाएको” अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि संसद् तथा राजनीतिक वृत्तमा व्यापक चर्चा र विवाद उत्पन्न भएको थियो। त्यसै विषयमा उठेका जिज्ञासाको जवाफ दिन परराष्ट्रमन्त्रीले संसद्मा सरकारको धारणा स्पष्ट पारेका हुन्।











प्रतिक्रिया