बलिउड अभिनेता अर्जुन रामपालले आफ्नो वैवाहिक सम्बन्ध टुट्दाको पीडा र त्यसबेला भोग्नुपरेका व्यक्तिगत सङ्घर्षबारे खुलासा गरेका छन्। उनले पूर्व पत्नी मेहर जेसियासँगको सम्बन्धविच्छेद आफ्नो जीवनको अत्यन्त कठिन चरण भएको बताएका हुन्।
एक युट्युब अन्तर्वार्तामा बोल्दै अर्जुनले जीवनको त्यो समय निकै अन्धकारमय र एक्लोपूर्ण रहेको बताए। उनका अनुसार वैवाहिक सम्बन्ध कमजोर बन्दै गइरहेको थियो भने अर्कोतर्फ उनकी आमा क्यान्सरसँग संघर्ष गरिरहेकी थिइन्।
अर्जुनले भने, त्यो समय म आफैँसँग पनि जोडिन सकिरहेको थिइनँ। मेरो वैवाहिक जीवन सही दिशामा थिएन। जीवनमा केही पनि स्थायी हुँदैन भन्ने यथार्थ स्वीकार गर्न निकै गाह्रो भयो। त्यही बेला आमाको स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको थियो।”
उनले आफ्नो बुवाको निधन केही वर्षअघि मात्रै भएको स्मरण गर्दै त्यस अवधिमा जीवनका धेरै महत्वपूर्ण सम्बन्ध र खुसीहरू गुमाएको अनुभूति भएको बताए।
यही कठिन परिस्थितिका बीच अर्जुनको जीवनमा मोडल तथा फेसन डिजाइनर ग्याब्रिएला डेमेट्रिएड्सको प्रवेश भएको थियो। उनले ग्याब्रिएलाले आफूलाई भावनात्मक रूपमा ठूलो साथ दिएको उल्लेख गरेका छन्।
अर्जुनका अनुसार उनीहरू दुवै आफ्नो-आफ्नो चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका थिए, तर एकअर्काको साथले कठिन समय पार गर्न सफल भए। उनले ग्याब्रिएलालाई आफ्नो जीवनको महत्वपूर्ण सहारा र सौभाग्यको रूपमा चित्रण गरेका छन्।
अर्जुन र मेहरले सन् १९९८ मा विवाह गरेका थिए। करिब दुई दशक लामो वैवाहिक जीवनपछि उनीहरूले सन् २०१८ मा अलग हुने निर्णय गरेका थिए भने सन् २०१९ मा कानुनी रूपमा सम्बन्धविच्छेद भएको थियो। उनीहरूका दुई छोरी छन्।
मेहरसँग छुट्टिएपछि अर्जुन र ग्याब्रिएलाको सम्बन्ध सुरु भएको थियो। हाल उनीहरूका दुई सन्तान छन् र उनीहरूले आफ्नो सम्बन्धलाई सार्वजनिक रूपमा स्वीकार गरिसकेका छन्।
व्यक्तिगत जीवनका उतारचढावपछि अर्जुन व्यावसायिक रूपमा पनि पुनः सफल देखिएका छन्। हालैका चलचित्रहरूमा उनले निभाएका भूमिकाले दर्शक र समीक्षकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेका छन्, जसले उनलाई फेरि चर्चामा ल्याएको छ।











प्रतिक्रिया