भइहाल्छ … हुन्छ हुन्छ …



कुरा फेर्नु राजनीतिको धर्म हो। अहिले त यो काइदाको खेती पनि राम्रोसँग फस्टाएको छ। राजनीति यति धेरै खराब खेल भयो कि बोलीको विश्वास नै नहुने। बिहानदेखि बेलुकासम्म पटक–पटक बोली परिवर्तन भइरहने। जब बोलीको टुंगो हुँदैन तब भरोसा गर्ने र विश्वास टेकाउने चौतारो भत्किन पुग्छ। सडकमा बस्दा अर्कै कुरा तर देश चलाउने कुर्सीमा बसेपछि कुर्सीको इज्जत गर्न जान्नुपर्ने हो।

सिक्नुपर्ने हो। तर, देशका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दिनहुँ कुरा फेर्न सिपालु छन्। जो हुन्छ हस हुन्छ भइहाल्छ नि भनिदिने त परम्परा नै बनिसक्यो। शेरबहादुर देउवाको कुरा सुन्दा हो भन्दिने। केपी ओलीको कुरा सुने ल हुन्छ भनिदिने। देशको प्रधानमन्त्रीले ठीक र बेठीक छुट्याएर निर्णय लिने आँट गर्नुपर्ने हो। राजनीतिक दलहरूबीच अविश्वासको खाडल देखिँदा एकले अर्काको कुराको भर नै गर्न छोडेका छन्। बोलीको ठेगान नहुँदा देशमा समस्याको चाङ थपिँदै गएको छ। धरहरा प्रधानमन्त्रीको बोली सुन्दा तीनछक्क पर्छ भन्या।

बिहान कांग्रेससँग ठिक्क। दिउँसो एमालेसँग ठिक्क। साँझ मधेसी मोर्चासँग पनि ठिक्क। होइन यो ठिक्क पार्ने चेपारो घस्ने परम्पराले देशचाहिँ कहिले उँभो लाग्ने हो भन्दै धरहरासँग सर्वसाधारणले प्रश्न गरेर हैरान छ। प्रधानमन्त्री कहिले चुनाव गर्छु भनेर तातिन्छन्, कहिले संविधान संशोधन गरेर मात्र अगाडि जान सकिन्छ भन्छन्। कहिले एमालेले चुनावको मिति घोषणा गर्न दिएन भन्छन्, कहिले अब सडक आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिन्छन्। प्रचण्डको बहुरंगी रूप बुझ्न नसक्दा अझै देशले दुःख पाउने भो भन्दै सर्वसाधारणले भनेको धरहराले पनि सुनेको छ। हिजो विराटनगर गएर मुलुकको प्रधानमन्त्रीले बोल्न मिल्ने कि नमिल्ने कुरा पनि गरेछन्। हे दैव ! प्रधानमन्त्री प्रचण्डको कल्याण गर।

प्रतिक्रिया दिनुहोस्