थरुहट आन्दोलनको नालीबेली



बुनु थारु
नेपालको विभिन्न आदिवासी जनजातिमध्ये चौथो स्थान ओगटेको थारु जाति एक हो, जो कमैया र कमलरीजस्तो दास बनी आफू कहिल्यै खुशी, सुखी हुन पाएन । उनीहरुको सोझोपनको फाइदा उठाई जमिन लुटियो । आफ्ना अधिकारका लागि थारुहरु अझै पनि लडिरहेका छन् । यही क्रममा २०७२ को भदौ ७ गते टीकापुर घटना भयो । त्यस घटनाको वास्तविक रहस्य अझै पनि विस्तृत रुपमा आउन सकेको छैन । थारुहरुमाथि जथाभावी झुटा मुद्दा लगाई जेल हालिएको छ । निर्दोष व्यक्तिको धनसम्पत्ति जलाइएको छ, उनीहरुलाई क्षतिपूर्ति त के उनीहरुप्रति हेर्ने दृष्टिकोणमा पनि धेरै फरक आएको छ ।

यसैको सेरोफेरोमा सञ्चारकर्मीद्वय कृष्णराज सर्वहारी तथा गणेश चौधरीले थरुहट आन्दोलनः टीकापुर कथा नामक पुस्तक बजारमा ल्याएका छन् । पुस्तकको पहिलो खण्डमा थारुहरुको छाता संगठन थारु कल्याणकारिणी सभा (थाकस) को इतिहास, गठनको उद्देश्य खोतलिएको छ । थाकसले थारुहरुको शैक्षिक, सामाजिक, सांस्कृतिक विकासको खाका कोर्नुको साटो यस संस्थाका नेतृत्वकर्ताहरुले राज्यको माथिल्लो निकायमा पुग्नको लागि सिँढीको रुपमा प्रयोग गरेको निक्र्यौल गरेको छ ।

थरुहट आन्दोलनको इतिहास समेटेको दोस्रो खण्डमा थारुहरुले आफ्नो पहिचानको लागि गरिरहेको संघर्षको यथार्थता प्रस्तुत गरिएको छ । प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा थारुहरुलाई मधेसी सूचीमा ल्याइँदा सोको विरोधमा पहिलो थरुहट आन्दोलन भएको थियो । कैलाली, कञ्चनपुरलाई थरुहटमा नगाभिँदा दोस्रो थरुहट आन्दोलन भएको थियो । तिनीहरुको पहिचान, संघर्ष यस खण्डमा समेटिएको छ ।

तेस्रो खण्डमा टीकापुरको इतिहास, २०७२ भदौ ७ गतेको टीकापुर घटना, त्यसले उब्जाएको प्रभाव, सामाजिक सद्भावमाथि आँचलगायतका घटनालाई विभिन्न कोणमा हेरिएको छ । परिशिष्ट खण्डमा थरुहट संयुक्त संघर्ष समितिका मागहरु, आन्दोलनकारी र सरकारबीच भएको सहमतिलगायत समेटिएको छ । त्यस अलावा टीकापुर घटनाबारे त्यस क्षेत्रका सभासद जनकराज चौधरीसँगको कुराकानी, टीकापुर घटनामा कारागारमा रहेका थरुहट आन्दोलनका नेता लक्ष्मण थारुको लेख पनि समेटिएको छ । थारुहरुको घरमा छानी–छानी आगो लगाइएको सम्पत्तिको क्षति विवरण पनि देखाइएको छ र घटनामा मारिनेहरुको नामावली पनि समेटिएको छ । सामाजिक सद्भावमा आँच आएको टीकापुरवासी अझै पनि मनोवैज्ञानिक रुपमा त्रसित छन् । थरुहट आन्दोलनको जिम्मा लिएको थाकसले टीकापुर घटनाको जिम्मा लिन नसक्नुले थारुहरुमै एकताको कमी–कमजोरी रहेको पुस्तकले औंल्याएको छ । नेतृत्वकर्ता नै कमजोर भइदिएपछि स्वतः अरु पनि कमजोर हुन्छन् । उचित छानबिनको निष्कर्ष नआइरहेको बेला यो खोजमूलक पुस्तक आउनु सुखद कुरा हो ।

टीकापुर घटनाको उचित छानबिनको ढिलाइ भइरहँदा यस पुस्तकले सम्पूर्ण टीकापुरको इतिहास समेटी यसको छानबिन राम्ररी हुनुपर्ने चासो देखाउँदै सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्न दबाब दिएको छ । पीडितहरुसँगको पनि अन्तर्वार्ता राख्दा अझ सान्दर्भिक हुन्थ्यो कि ? समग्रमा पत्रकारद्वय कृष्णराज सर्वहारी र गणेश चौधरीद्वारा लिखित यो पुस्तक अनुसन्धानकर्ता, विद्यार्थी सबैले थारुहरुको इतिहास, संघर्ष र टीकापुर घटना बुझ्न पढ्नै पर्ने पुस्तक हो । पुस्तक प्रकाशनको महिना दिनमै दोस्रो संस्करण आउनुले यस घटनाबारे धेरैको चासो रहेको देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्