छाउपडी गोठभित्रै महिलाको मृत्यु



विष्णुप्रसाद भण्डारी, अछाम

सुदूर तथा मध्यपश्चिमका कतिपय जिल्लामा व्याप्त छाउपडी कुप्रथा उन्मूलनका लागि थुप्रै अभियान सञ्चालन भए तर त्यस्ता अभियान सार्थक भने हुन सकेका छैनन्। विभिन्न संघसंस्था र सरकारी निकायमार्फत् सञ्चालित अभियानले आम नागरिकमा परिवर्तन आएका प्रतिवेदनहरू आए। सर्वसाधारणले पनि आफूहरू पूर्णतः परिवर्तन भएको बताए। तर त्यो कार्यक्रम सञ्चालित अवधिमा, ती संघसंस्था र निकायलाई देखाउन मात्र हुने गरेको घटना क्रमले देखाउँछ।

अछाम जिल्लामा महिनावारी हुँदा गोठमा बस्ने चलन अझै विद्यमान छ। एकताका अछाममा छाउपडी गोठमुक्त अभियान जोडतोडका साथ चलेको थियो। यस क्रममा साविकका ३१ गाविस, हालका २० गाविस र विभिन्न नगरपालिकाका १८ वटा छाउपडी गोठमुक्त घोषणा भएका छन्। त्यसका अलवा अन्य गाउँका नागरिकमा समेत विगतको भन्दा चेतनामा आमूल परिवर्तन आएको बताइन्छ। तर पनि महिनावारी भएका बेला गोठमा बस्ने चलन अझै विद्यमान छ। त्यो कुरा कुनै महिला छाउपडी गोठमै मृत भेटिएपछि मात्र थाहा हुन्छ।

हालै मात्र अछामको तिमिल्सेन गाविस–७ निवासी २६ वर्षीया डम्मरा उपाध्यायको छाउपडी गोठभित्रै ज्यान गएको छ। महिनावारी भएको पाँचौं दिनको राति उपाध्याय छाउपडी गोठभित्र मृत अवस्थामा भेटिएकी हुन्। मंसिर ४ गते बिहान अबेरसम्म पनि नउठेपछि घरका अन्य सदस्यले गएर हेर्दा उनी छाउगोठभित्रै घोप्टो परेको अवस्थामा मृत भेटिएको अछामका प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले जानकारी दिनुभयो। उनी महिनावारी भएको पहिलो दिनदेखि नै घरदेखि ४० फिट टाढाको दूरीमा रहेको छाउगोठमा एक्लै बस्दै आएको उहाँले बताउनुभयो।

मृतक उपाध्यायको नाकबाट रगत बगेको थियो भने अरू कुनै पनि चोटपटक नदेखिएको ढकालले बताउनुभयो। शुक्रबार राति स्वस्थ अवस्थामै सुतेकी उपाध्यायको हृदयाघातका कारण मृत्यु भएको हुन सक्ने आशंका गरिए पनि मृत्युको खास कारण भने खुल्न सकेको छैन। ४ गते नै उनको शव जिल्ला अस्पताल मंगलसेनमा पोस्टमार्टम गरेर दाहसंस्कार गरिएको थियो। घटनाले छाउपडी गोठमुक्त अभियानलाई थप चुनौती थपेको बताउँदै अछामका प्रमुख जिल्ला अधिकारी कोशलराज शर्मा तिमिल्सेनाले यसको अन्त्यका लागि अब सशक्त अभियान थालिने बताउनुभयो। मंसिर ७ गते त्यसैका लागि जिल्लास्थित सरोकारवालासँग बैठक आयोजना गरिएको उहाँले बताउनुभयो।

अछाममा महिनावारी भएको सातौं दिनसम्म छाउपडी गोठमा बस्नुपर्ने चलन छ। महिनावारी हुँदा छाउगोठमा बस्नुपर्ने चलन अन्त्यका लागि अछाममा २० गाविस तथा ३ नगरपालिकाका १८ वटा वडा छाउपडी गोठमुक्त घोषणा भइसकेका छन्। तर पनि अझै समस्या ज्यूँकात्यूँ छ।

प्रतिक्रिया दिनुहोस्