महालक्ष्मी माविमा माछापुच्छ्रे स्कुलले बनाइदियो आधुनिक चमेनागृह


ललितपुर ।

ललितपुरको नखिपोटस्थित महालक्ष्मी माध्यमिक विद्यालयमा माछापुच्छ्रे आइबी वल्र्ड स्कुलले निर्माण गरिदिएको आधुनिक चमेनागृह (क्यान्टिन) को औपचारिक उद्घाटन तथा हस्तान्तरण गरिएको छ।

माछापुच्छ्रे स्कुलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत महालक्ष्मी विद्यालयको परिसरमा यो पूर्वाधार निर्माण गरिदिएको हो। दुवै विद्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र शिक्षा क्षेत्रका सरोकारवालाहरूको उपस्थितिमा आयोजित एक विशेष समारोहका बीच भवनको उद्घाटन गरिएकाे हाे ।

कार्यक्रममा बोल्दै माछापुच्छ्रे आइबी वल्र्ड स्कुलका संस्थापक अध्यक्ष डा. विनोद प्रसाद यादवले नवनिर्मित चमेनागृहको उद्घाटन गर्न पाउँदा गौरव महसुस भएको बताउनुभयो। निजी र सरकारी विद्यालयबीचको खाडललाई कम गर्न र समाजमा निजी विद्यालयप्रतिको नकारात्मक धारणा बदल्न यो सानो प्रयास गरिएको उहाँको भनाइ थियो। चमेनागृह केवल एउटा भौतिक संरचना मात्र नभई दुई स्कुल बीचको सद्भाव, प्रेम, साझेदारी र सामाजिक उत्तरदायित्वको प्रतीक भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि भावनात्मक रूपमा साझेदार बनेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

त्यस्तै, ललितपुर महानगरपालिकाका विद्यालय निरीक्षक कपिलमणी पौडेलले विद्यार्थी र शिक्षक कर्मचारी दुवैका लागि उपयोगी हुने गरी एउटै क्यान्टिन निर्माण गरिदिएकोमा माछापुच्छ्रे स्कुललाई धन्यवाद दिनुभयो। महानगरपालिकाको नीतिगत व्यवस्था र शिक्षा नियमावली अनुसार साधनस्रोत सम्पन्न विद्यालयले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यो सराहनीय कार्य गरेको उहाँको भनाइ थियो। विगतमा यस विद्यालयको क्यान्टिनको अवस्था दयनीय रहेको स्मरण गर्दै उहाँले आवश्यकता पहिचान गरी क्यान्टिन नै छनोट गरेर निर्माण गरिदिएकोमा आभार प्रकट गर्नुभयो।

कार्यक्रममा एकल विद्यालयका प्रमुख महावीर गैरैयाले विद्यालयको खानेपानीको अवस्थालाई थप व्यवस्थित बनाउन आफ्नो तर्फबाट सहयोग गर्ने घोषणा गर्नुभयो। विद्यालयमा फिल्टर भए पनि मेसिनरी र पार्टपुर्जाहरू थपेर त्यसलाई अझ व्यवस्थित बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उहाँले आफ्नो संस्थाको तर्फबाट खानेपानी प्रणाली सुधारका लागि आवश्यक सामग्रीहरू जडान गरिदिने प्रतिबद्धता जनाउनुभयो।

ललितपुर महानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष अमृतजंग महतले धेरैजसो कर्पोरेट क्षेत्रले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण वा रक्तदान जस्ता सामान्य कार्यक्रम मात्र गर्ने गरेको परिप्रेक्ष्यमा माछापुच्छ्रे स्कुलले वास्तविक आवश्यकता बुझेर उदाहरणीय काम गरेको बताउनुभयो। विकसित देश तथा छिमेकी मुलुक भारतमा ठूला कर्पोरेट हाउसहरूले सामाजिक उत्तरदायित्वको बजेटबाट ठूला पूर्वाधार निर्माण गर्ने गरेको उदाहरण दिँदै वडाअध्यक्ष महतले आफ्नै क्षेत्रको सामुदायिक विद्यालयको आवश्यकता पुरा गरिदिएकोमा डा. विनोद यादव र उहाँको सम्पूर्ण टोलीलाई विशेष धन्यवाद ज्ञापन गर्नुभयो।

लामो समयदेखि विद्यार्थी तथा शिक्षक शिक्षिकाहरूका लागि स्वच्छ र व्यवस्थित खाजा घरको आवश्यकता महसुस भइरहेको अवस्थामा माछापुच्छ्रे वल्र्ड स्कुलको सहयोगमा यो पूर्वाधार प्राप्त भएको विद्यालयका प्रधानाध्यापकले जानकारी दिनुभयो।
कार्यक्रमको अवसरमा महालक्ष्मी विद्यालयले चमेनागृह निर्माण सम्पन्न गर्न सहयोग पुर्‍याउने विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो।