संसद्मा पुग्यो काजल कर्ण प्रकरण, छानबिन गर्न सांसद निनुकुमारी कर्णको माग


काठमाडौं–

नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्णले अभिनेत्री काजल कर्णमाथि फिल्म ‘चिरञ्जीवि भवः’को छायांकनका क्रममा जातीय तथा क्षेत्रीय विभेद भएको भनिएको घटनाको निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेकी छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कर्णले अभिनेत्रीमाथि भएको भनिएको व्यवहार मधेशी समुदायमाथिको अपमानका रूपमा आफूले लिएको बताइन्। उनले घटनामा संलग्न भनिएका सबै पक्षमाथि निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरिन्।

‘मधेशीलगायत पछाडि पारिएका समुदायले कहिलेसम्म विभेदको पीडा सहनुपर्ने हो?’ उनले संसद्मा प्रश्न गर्दै भनिन्, ‘यस्ता अपमानजनक व्यवहारबाट उत्पन्न हुने पीडाले कसैलाई आत्मघाती निर्णयतर्फ धकेल्ने अवस्था आउनु हुँदैन।’

सांसद कर्णले अभिनेत्री काजल कर्णसँग आफूले टेलिफोनमार्फत कुराकानी गरेको उल्लेख गर्दै ‘चिरञ्जीवि भवः’को छायांकन सेटमा भएको भनिएको दुर्व्यवहार खेदजनक रहेको धारणा व्यक्त गरिन्।

केही दिनअघि अभिनेत्री काजल कर्णले सामाजिक सञ्जालमार्फत आफूलाई छायांकन भइरहेको फिल्म ‘चिरञ्जीवि भवः’बाट अपमानजनक ढंगले हटाइएको, मधेशी भएकै कारण विभेद गरिएको तथा सहमतिअनुसारको पारिश्रमिकसमेत नपाएको आरोप लगाएकी थिइन्।

यता फिल्मका निर्देशक दीपक आचार्य ‘काकु’ले भने अभिनेत्रीका आरोप असत्य रहेको दाबी गर्दै सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले लगाइएका आरोपको खण्डन गर्दै घटनाबारे फरक पक्ष प्रस्तुत गरेका छन्।

यस विषयमा दुवै पक्षका फरक–फरक दाबी सार्वजनिक भइरहेका छन् भने घटनाको आधिकारिक छानबिनबाट मात्रै वास्तविकता स्पष्ट हुने अपेक्षा गरिएको छ।