स्याङ्जा । किसानले खेती गर्न छाडेको स्याङ्जाको भीरकोट नगरपालिकाका जमिनमा अहिले बिस्तारै हरियाली छाएको छ । नगरपालिकाको अगुवाइमा सयौँ रोपनी जमिनमा खुर्सानी खेती गरिएको छ । नगरपालिकालाई कृषिमा आत्मनिर्भर बनाउँदै ग्रामीण अर्थतन्त्रलाई विस्तार तथा सुदृढीकरण गर्ने उद्देश्यले नगरपालिकाको अगुवाइमा १ सय २५ रोपनी क्षेत्रफलमा खुर्सानी खेती गरिएको हो ।
नगरपालिकामा सञ्चालित विभिन्न कार्यक्रमअन्तर्गत खुर्सानी खेतीलाई प्रवद्र्धन गर्न नगरपालिकाकै अगुवाइमा यो खेती गरिएको छ । नगरका ९ वटै वडामा २६ वटा सामूहिक नर्सरी स्थापना गरी उत्पादित १ लाख ४ सयवटा अकबरे खुर्सानीका बिरुवा २ सय ७० जना कृषकलाई वितरण गरी झन्डै १ सय २५ रोपनी क्षेत्रफलमा खेती विस्तार गरिएको छ ।
परम्परागत कृषिबाट अपेक्षाकृत आम्दानी नभएपछि गाउँ तथा कृषि नै छाडेर अन्य पेसामा लागेहरुसमेत अहिले खेतीकिसानीमै फर्किएका छन् । खुर्सानी खेतीबाट व्यावसायिक कृषि प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुगेको नगरपालिकाले जनाएको छ । परम्परागत खेती प्रणालीमा उत्पादनशील जमिन बाँझो रहने, जंगली जनावरको समस्या बढ्ने तथा अत्यधिक रासायनिक मल–विषादी प्रयोग हुने अवस्थाबीच नगरपालिकाले थालेको अभियानले किसानलाई उत्साह मिलेको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । कार्यक्रमअन्तर्गत किसानलाई अभिमुखीकरण, समूह गठन, बीउ खरिद तथा वितरण, प्राविधिक सहजीकरण गरिएको छ । त्यस्तै रोग तथा कीराको व्यवस्थापन, झोल मल तथा जैविक विषादी निर्माण तालिमलगायत गतिविधि सञ्चालन गरिएको नगरपालिकाले जनाएको छ ।
यहाँका किसानहरुले धमाधम अकबरे खुर्सानी खेती गरेका छन् । हेफर परियोजना नेपालको अनुगमन तथा समन्वय समितिको निर्णयअनुसार एक रोपनीभन्दा बढी क्षेत्रफलमा अकबरे खुर्सानी खेती गर्ने किसानलाई मल्चिङ प्लास्टिकसमेत सहयोग गरिएको छ । कृषि क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न नगरपालिकाले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बन्दै गएको स्थानीयले बताएका छन् ।
स्थानीयको बुझाइमा कृषि क्षेत्रमा देखिएका चुनौतीलाई अवसरमा बदल्न कार्यक्रमले सकारात्मक प्रभाव पार्न थालेको छ । स्थानीय तह, विकास साझेदार संस्था र किसानबीचको सहकार्यले बाँझो जमिनको उपयोगसँगै रोजगारी र आयआर्जन बढाउने लक्ष्यलाई थप बल पुग्ने नगर कार्यपालिका सदस्य एवं भीरकोट–७ का वडाअध्यक्ष ताराप्रसाद अर्यालले बताउनुभयो ।
नगरपालिकाले लगानीसँगै उत्पादनको न्यूनतम मूल्य तोकेर बजारको ग्यारेन्टी गरेपछि यहाँका किसानहरु अकबरे खुर्सानी खेतीमा आकर्षित भएका हुन् । नगरपालिकाले यसअघि आँधीखोला किनारको बगर क्षेत्रमा व्यावसायिक तर्बुजा खेतीको परीक्षण गरेको थियो । कृषि क्षेत्रलाई विविधीकरण गर्दै किसानको आम्दानी बढाउने उद्देश्यले पहिलो चरणमा नदीकिनारको जमिन प्रयोग गरी नमुना खेती थालेको थियो । हेफरको सहकार्यमा तर्बुजा खेतीको सफल परिक्षणपछि खुर्सानी खेतीमा केन्द्रित भएको नगरपालिकाले जनाइएको छ ।
नदीकिनारको माटो र हावापानी तर्बुजा खेतीका लागि अनुकूल देखिएपछि परीक्षण सफल भएको छ । परीक्षण सकारात्मक देखिएसँगै तर्बुजाको व्यावसायिक उत्पादनमा विस्तार गरिएको छ । नगरपालिकाले किसानलाई बीउ, बेर्ना, कृषि उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराएको जनाएको छ ।
नगरपालिकाको वडा नं. १ आँधीखोला किनार क्षेत्र, वडा नं. ४ को फाँट, वडा नं. ५ को पकान क्षेत्र र वडा नं. ६ को एकुवार फाँट गरी करिब २० रोपनी क्षेत्रफलमा रोपिएको तर्बुजाले उत्पादन दिएको नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण लम्सालले जानकारी दिनुभयो । नगरपालिकाले तर्बुजा खेतीको सफल परीक्षणसँगै सिम्ला मिर्च, अकबरे खुर्सानी तथा बेमौसमी तरकारी उत्पादनलाई समेत प्रोत्साहन गरिरहेको छ । परम्परागत खेतीमा सीमित किसानलाई नगदे बालीतर्फ आकर्षित गर्दै कृषि उत्पादन बढाउने र रोजगारी सिर्जना गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।











प्रतिक्रिया