विश्वकप २०२६ : सेमिफाइनलमा फ्रान्स र स्पेनको अग्निपरीक्षा


गोल्डेन बुटको होडमा एम्बाप्पे, उपाधिको खोजीमा स्पेन

वासिंटन, (एजेन्सी) ।

आज राति हुने पहिलो सेमिफाइनल खेलमा स्पेन र फ्रान्स फाइनल पुग्नको लागि खेल्दैछन् । स्पेन दोस्रोपटक फाइनल खेल्ने योजनामा हुनेछ भने फ्रान्सले पाँचौं फाइनल खेल्नको लागि कसरत गर्नेछ । साथै फ्रान्सको लगातार तेस्रो विश्वकप फाइनल खेल्ने लक्ष्यमा स्पेन तगारो बन्न पनि सक्नेछ । सेमिफाइनलसम्म पुग्न फ्रान्सले ६ वटै खेल जितेको छ । तर, स्पेनले भने पहिलो खेलमा गोलरहित बराबरी खेलेको थियो । त्यसपछि भने स्पेनले सबै खेलमा सानदार जित हासिल ग¥यो ।

फ्रान्सले १९९८ मा पहिलोपटक विश्व विजेता बनेपछि प्रतियोगितामा लगभग वर्चश्व नै बनाएको छ । यसपछि २००२ देखि २०२२ सम्म गरी ६ पटक विश्वकप आयोजना भयो । जसमा फ्रान्सले ३ वटा फाइनल खेलेको छ । फ्रान्सले १ उपाधि जितेको छ भने दुईमा हार बेहोरेको छ । तर, यति अवधिमा ३ फाइनल खेल्ने फ्रान्समात्रै रहेको छ । अर्कोतिर स्पेनले भने २०१० मा पहिलोपटक विश्व विजेता बनेपछि भने प्रतियोगितामा खासै प्रभाव छोड्न सकेन । २०१४, २०१८ र २०२२ का विश्वकपमा बिर्सनलायक प्रदर्शन गरेको स्पेन यसपटक भने उत्कृष्ट लयमा देखिएको छ । यदि, यही लयलाई निरन्तरता दिन सके स्पेनलाई दोस्रो फाइनल खेल्न कसैले रोक्न सक्ने छैन ।

विश्वकपको यो रोमाञ्चक भिडन्तमा फ्रान्सका मुख्य स्टार केलियन एम्बाप्पेको स्वास्थ्यलाई लिएर केही चिन्ता रहे पनि उनी सामान्य गोलीगाँठाको चोटबाट पूर्ण रूपमा निको हुँदै मंगलवारको खेलमा मैदान उत्रिने पक्कापक्की देखिएको छ । अर्कोतर्फ, फ्रान्सेली टोलीका मिडफिल्डर मनु कोनेको घुँडाको समस्या सामान्य सावधानीका रूपमा मात्र लिइएको छ, जसले गर्दा तिघ्राको चोटबाट फर्किएका ओरेलियन चुआमेनीसँग उनको प्रतिस्पर्धा रोचक हुनेछ । ८ गोल गरिसकेका गोल्डेन बुटको दौडमा रहेका एम्बाप्पे र बालोन डी ओर विजेता डेम्बेलेको जोडीले अहिलेसम्म १९ वटा अवसर सिर्जना गरिसकेका छन्, जुन स्पेनिस रक्षापंक्तिका लागि ठूलो टाउको दुखाइको विषय बन्न सक्छ ।

फ्रान्सको अग्रपंक्तिमा दुए वा बारकोलामध्ये कसले स्थान बनाउँछन् भन्ने कुरा अझै निश्चित छैन भने अर्कोतर्फ स्पेनको टोलीमा पनि प्रतिस्पर्धा उस्तै छ । मिकेल ओयार्जाबलले यस विश्वकपमा चार गोल गर्दै आफ्नो लय प्रमाणित गरिसकेका छन् । तर, टोलीमा फेरान टोरेस, निको विलियम्स र येरेमी पिनोजस्ता खेलाडीहरू बेन्चबाट सुरु गरेर प्रभाव पार्न तयार छन् । मिडफिल्डमा मेरिनो र पेड्रीको बलियो दाबीले फबियन रुइज र डानी ओल्मोलाई दबाबमा पारेको छ । साथै किशोर स्टार लामिन यामल आफ्नो दायाँ विङ्गमा पेड्रो पोरोसँग मिलेर स्पेनको आक्रामक खेललाई नयाँ उचाइमा पु¥याउने प्रयासमा हुनेछन् ।

हेड टु हेड ः
विश्वकपमा फ्रान्स र स्पेनले एकपटक मात्रै एकअर्कासँग खेलेका छन् । जर्मनीमा सम्पन्न २००६ को विश्वकपमा युरोपका यी दुई महारथीले अन्तिम १६ मा खेलेका थिए । जुन खेलमा पहिलो गोल डेभिड भिल्लाको पेनाल्टीमा गरेका थिए ।

स्पेनको उक्त अग्रतालाई फ्रान्क रिबेरीले गोल फर्काएर बराबरीमा पु¥याए भने त्यसपछि प्याट्रिक भियरा र जिनेदिन जिदानले गोल गर्दै फ्रान्सको जित ३–१ ले सुनिश्चित गरेका थिए । तर, गत वर्ष स्टुटगार्टमा भएको यूईएफए नेसन्स लिगको सेमिफाइनलमा भने यी दुई टोलीको भिडन्त भएको थियो । जुन खेलमा स्पेनले ५–४ को जित निकालेको थियो । यो युरोपेली टोलीबीचको सर्वाधिक गोलको खेलसमेत सावित भएको थियो । यदि, यस्तै खेल पस्केमा फुटबल समर्थकहरूका लागि रोमाञ्चक बन्नेछ ।

(असार ३० गते मंगलवार राति १२ः४५ बजे)