अर्जेन्टिनी टोलीमा खट्किएको ‘डी मारिया’


काठमाडौं ।

हरेक विश्वकपले नयाँ नायकको जन्म दिन्छ र केही पुराना दिग्गजहरूलाई बिदाइको आँसुसँगै इतिहासको पानामा सीमित गर्छ । यो विश्वकपमा जब अर्जेन्टिनी टोली मैदानमा उत्रिन्छ, तब दर्शकहरूले बारम्बार एक जना खेलाडीको कमी महसुस गरिरहेका छन् । उनी हुन एन्जेल डी मारिया । फुटबलमा आजको पुस्ताले हाल्यान्डको गोल मेसिन शैलीको चर्चा गरिरहँदा, अर्जेन्टिनाको बायाँ विङ्गमा त्यो ‘जादुई खुट्टा’ को अनुपस्थिति यति खड्किएको छ कि मानौं, टोलीको प्राणै कतै छुटेको छ ।

मेसीको छायाँमा लुकेको त्यो ‘साइलेन्ट वारियर’

आश्चर्यको कुरा, यति धेरै निर्णायक क्षणहरू आफ्नो नाममा लेखाउँदा पनि उनी कहिल्यै ‘स्टारडम’ को भोकमा रहेनन् । उनले सधैं लियोनल मेसीको छायाँमा रहेर चुपचाप आफ्नो काम गरिरहे । अतिरिक्त चमक र सामाजिक सञ्जालको हो-हल्लाबाट टाढा रहेर मैदानभित्र इतिहास लेख्नु नै उनको विशेषता थियो । सन् २०१४ को विश्वकपमा चोटका कारण फाइनल गुमाउँदा धेरै अर्जेन्टिनी समर्थकलाई लाग्थ्यो, “यदि आज डी मारिया मैदानमा हुन्थे भने सायद कथा अर्कै हुन्थ्यो ।” त्यो चोटले उनलाई मात्र होइन, सिंगो अर्जेन्टिनालाई अझै पनि एउटा प्रश्नमा अल्झाउँछ । फुटबलमा आजभोलि सामाजिक सञ्जालका फलोअर्स र भाइरल भिडियोले खेलाडीको महानता मापन गरिन्छ । तर, डी मारिया त्यसको ठिक विपरीत थिए । उनी आँकडाका खेलाडी होइनन्, उनी ‘भरोसा’ का प्रतीक हुन् । समर्थकहरूका लागि उनी एक सुरक्षा कवच थिए । 

बिदाइ र अविस्मरणीय विरासत

सन् २०२४ मा कोलम्बियालाई हराउँदै दोस्रो कोपा अमेरिका जितेर उनले राष्ट्रिय टोलीबाट बिदाइ लिँदा सायद फुटबलले उनलाई दिने सबैभन्दा ठूलो सम्मान पूरा गर्‍यो । उनी मैदानबाट बाहिरिएका छन्, तर उनले सिर्जना गरेको त्यो ‘विनिङ स्पिरिट’ अहिले पनि अर्जेन्टिनी टोलीमा खाँचो छ । डी मारियाको अनुपस्थिति केवल एउटा खेलाडीको अभाव होइन, अर्जेन्टिनी फुटबलको त्यो स्वर्ण युगको एक यस्तो अध्याय हो, जसले हरेक कठिन मोडमा टोलीलाई हारबाट जोगाएको थियो । फुटबल इतिहासमा डी मारियाको नाम एउटा यस्तो सूत्रसँग जोडिएको छ, जसले अर्जेन्टिनालाई पटक-पटक गौरव दिलाएको छ । मेसीको पास र डी मारियाको फिनिसिङ, यो जोडी मैदानमा हुँदा विपक्षीका लागि कुनै दुःस्वप्नभन्दा कम हुँदैनथ्यो ।अर्जेन्टिनाले जितेका चार ठूला फाइनलमा डी मारियाको निर्णायक गोल रहनु सामान्य संयोग मात्र होइन, यो उनको ‘बिगर म्याच प्लेयर’ भएको प्रमाण हो ।

  • २००८ को बेइजिङ ओलम्पिक : मेसीको सटीक पासमा नाइजेरियाविरुद्धको त्यो विजयी गोल ।
  • २०२१ को कोपा अमेरिका : माराकानामा ब्राजिलको किल्ला तोड्ने त्यो ऐतिहासिक गोल ।
  • २०२२ को फिनालिसिमा : इटालीविरुद्धको त्यो सानदार प्रदर्शन ।
  • २०२२ को विश्वकप फाइनल : फ्रान्सविरुद्ध पेनाल्टी जितको त्यो रोमाञ्चक क्षणमा डी मारियाकै गोल ।