काठमाडौं।
नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले एजी–१० एकेडेमीसँगको सहकार्यमा ‘ह्युन्डाई नेक्स्ट जेन कप’ फुटबल प्रतियोगिता सम्पन्न गरेको छ। कम्पनीका अनुसार प्रतियोगिताको उद्देश्य ग्रासरुट (आधारस्तर) फुटबलको विकास गर्दै युवा खेलाडीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नु हो।
ललितपुरको च्यासल मैदानमा आयोजित १६ वर्षमुनि (यू–१६) एकदिने प्रतियोगितामा आठ टोलीका ८० युवा खेलाडी सहभागी भएका थिए। सन् २०२६ को फिफा विश्वकपले विश्वभर फुटबलप्रति उत्साह बढाइरहेका बेला ह्युन्डाई नेपालले स्थानीय स्तरबाटै भावी खेलाडीको विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गरेको जनाएको छ।
फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा ह्युन्डाईले आफ्नो ‘नेक्स्ट स्टार्ट्स नाउ’ अवधारणाअनुसार नेपालमा पनि आधारस्तरको फुटबल विकासमा योगदान पुर्याउने उद्देश्य राखेको कम्पनीले जनाएको छ।

प्रतियोगितामा ‘क्रेटा इलेक्ट्रिक’, ‘भेन्यु’, ‘आयोनिक–५’, ‘एक्सटर’, ‘कोना’, ‘क्रेटा’, ‘ग्रान्ड आई–१० नियोस’ र ‘प्यालिसेड’ नामका आठ टोलीबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धामा ‘टिम भेन्यु’ विजेता बनेको भने ‘टिम क्रेटा इलेक्ट्रिक’ उपविजेतामा सीमित भएको कम्पनीले जनाएको छ।
प्रतियोगिताले युवा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता प्रदर्शन गर्ने, नयाँ अनुभव हासिल गर्ने, आत्मविश्वास बढाउने तथा खेलप्रतिको समर्पणलाई थप मजबुत बनाउने अवसर प्रदान गरेको कम्पनीको भनाइ छ। साथै, एजी–१० एकेडेमीसँगको सहकार्यले नेपाली फुटबलको आधारस्तर विकासमा दीर्घकालीन योगदान पुग्ने विश्वास पनि व्यक्त गरिएको छ।
कार्यक्रममा एजी–१० एकेडेमीका निर्देशक तथा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान अनिल गुरुङले नेपालमा प्रतिभाको कमी नभए पनि अवसरको अभाव रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले युवा खेलाडीलाई ठूलो सपना देख्न र त्यसलाई साकार पार्ने आत्मविश्वास दिलाउने बताए। उनले ह्युन्डाई नेपालको सहयोगले नेपाली फुटबलको भविष्य थप सुदृढ बन्ने विश्वास व्यक्त गरे।
ह्युन्डाई नेपालले ‘नेक्स्ट जेन कप’ युवा विकास, समुदायसँगको सहकार्य तथा आधारस्तरको खेलकुद प्रवर्द्धनमार्फत सामाजिक योगदान गर्ने आफ्नो दीर्घकालीन योजनाको हिस्सा रहेको जनाएको छ। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रममार्फत भावी पुस्ताका खेलाडीलाई अवसर प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।











प्रतिक्रिया