नाबालिग सहकलाकारलाई पछ्याएको आरोपमा टिभी अभिनेता रोहित चन्देल पक्राउ


मुम्बई ।

हिन्दी टेलिभिजन अभिनेता रोहित चन्देललाई १६ वर्षीया सहकलाकारले पछ्याउने, बारम्बार सम्पर्क गर्न दबाब दिने र कुटपिट गरेको आरोप लगाएपछि मुम्बई प्रहरीले पक्राउ गरेको छ।

घाटकोपर प्रहरीले पीडित किशोरीको उजुरीका आधारमा चन्देलविरुद्ध बालबालिकाविरुद्ध हुने यौन अपराधसम्बन्धी ऐन (पोक्सो) तथा भारतीय न्याय संहिताका विभिन्न धाराअन्तर्गत मुद्दा दर्ता गरेको छ। अदालतमा उपस्थित गराइएका उनलाई न्यायिक हिरासतमा पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार १६ वर्षीया किशोरी र रोहित चन्देल एउटै परियोजनामा सहकलाकारका रूपमा काम गरिसकेका छन्। उजुरीमा किशोरीले पटक–पटक अस्वीकार गरी उनको मोबाइल नम्बर ब्लक गरे पनि चन्देलले विभिन्न नम्बरबाट निरन्तर सम्पर्क गर्न खोजेको र कुरा गर्न दबाब दिएको आरोप लगाएकी छन्।

उजुरीअनुसार गत जुलाई ५ मा चन्देल कथित रूपमा किशोरीको घरबाहिर पुगेका थिए। उनले किशोरीलाई पछ्याएको, विवाद गरेको, अपशब्द प्रयोग गरेको र कुटपिटसमेत गरेको आरोप लगाइएको छ। त्यसपछि किशोरीले परिवारसँगै घाटकोपर प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराएकी थिइन्।

प्रहरीले अनुसन्धानपछि जुलाई १० मा चन्देललाई पक्राउ गरेको जनाएको छ। उनीविरुद्ध भारतीय न्याय संहिताको धारा ७८ (पछ्याउने) र धारा ११५(२) (जानाजानी चोट पुर्‍याउने) सहित पोक्सो ऐनका सम्बन्धित धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ।

प्रहरीका अनुसार प्रारम्भिक सोधपुछका क्रममा चन्देलले किशोरीलाई भेट्न गएको स्वीकार गरेका छन्। प्रहरीले उनी दहिसरबाट घाटकोपरसम्म किशोरीलाई भेट्न जाने गरेको र मोबाइल नम्बर ब्लक गरिएपछि पनि अन्य नम्बर प्रयोग गरेर सम्पर्क गर्न प्रयास गरेको दाबी गरेको छ।

हाल प्रहरीले कल रेकर्ड, विद्युतीय प्रमाण तथा अन्य उपलब्ध साक्ष्यको परीक्षण गरिरहेको जनाएको छ। अनुसन्धान पूरा भएपछि र अदालतको अन्तिम निर्णयपछि मात्रै घटनाको निष्कर्ष स्पष्ट हुने प्रहरीको भनाइ छ।

रोहित चन्देलले सन् २०१४ मा टेलिभिजन शो हर मुश्किल का हल अकबर बीरबल बाट अभिनय यात्रा सुरु गरेका थिए। त्यसपछि काशीबाई बाजीराव बल्लाल मा बाजीरावको भूमिका निभाएर चर्चामा आएका उनी पाण्ड्या स्टोर मा धवल मकवाना र हालै सैराब नामक हिन्दी म्युजिकल–रोमान्टिक शृंखलामा पनि देखिएका थिए।

प्रहरीले नाबालिगसँग सम्बन्धित भएकाले घटनाको अनुसन्धान संवेदनशील रूपमा भइरहेको जनाएको छ। साथै, अनुसन्धान र न्यायिक प्रक्रिया पूरा नभएसम्म आरोपलाई अन्तिम रूपमा प्रमाणित भएको मान्न नमिल्ने पनि स्पष्ट पारेको छ।