काठमाडौं।
नेपालका लागि फोटोन सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल्स प्रालिले देशका पाँच स्थानमा नयाँ ‘शिल्ड सर्भिस पोइन्ट’ सञ्चालनमा ल्याएको छ।
कम्पनीका अनुसार भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानमा नयाँ आधिकारिक सेवा केन्द्र सञ्चालनमा आएसँगै फोटोनको देशव्यापी बिक्रीपछिको सेवा सञ्जाल २१ भन्दा बढी स्थानमा विस्तार भएको छ।
यस विस्तारसँगै फोटोनका विद्युतीय सवारीसाधन प्रयोगकर्ताले आफ्नै क्षेत्र नजिकैबाट मर्मत, प्राविधिक परीक्षण तथा अन्य बिक्रीपछिका सेवा सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। विशेषगरी शैक्षिक संस्था, ढुवानी व्यवसाय तथा व्यावसायिक सवारीसाधन सञ्चालन गर्ने ग्राहकलाई यसबाट बढी लाभ पुग्ने अपेक्षा गरिएको छ।
नयाँ सेवा केन्द्रमार्फत नियमित मर्मतसम्भार, सवारीसाधनको प्राविधिक परीक्षण, आवश्यक मर्मत तथा वारेन्टीसम्बन्धी सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ। ती केन्द्रमा विद्युतीय सवारीसाधनका लागि आवश्यक विशेष उपकरण, तालिमप्राप्त प्राविधिक तथा आधिकारिक स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा दक्ष प्राविधिक सेवा पनि आवश्यक बन्दै गएको छ। प्रमुख सहरबाहिर समेत सेवा विस्तार गरेर सवारीसाधनको सुरक्षा र विश्वसनीयता बढाउने, सञ्चालन अवधि लम्ब्याउने तथा बिक्रीपछिको सेवा लिन लामो दूरी यात्रा गर्नुपर्ने बाध्यता कम गर्ने लक्ष्य राखिएको छ।
फोटोनले नियमित मर्मतसम्भार, छिटो सेवा, पारदर्शी प्रक्रिया तथा नेपालको भौगोलिक अवस्थाअनुसारको सेवा प्रणालीमार्फत व्यावसायिक सवारीसाधनलाई निरन्तर सञ्चालनमा राख्न सहयोग पुग्ने जनाएको छ।
भालुवाङ, बागलुङ, लालबन्दी, चपुर र लहानलाई सेवा सञ्जालमा समेट्दै कम्पनीले विद्युतीय व्यावसायिक सवारीसाधन प्रयोगकर्तालाई सहज र गुणस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।











प्रतिक्रिया