नवलपरासी । नेपालका कतिपय स्थान पर्यटकीय गन्तव्यस्थलका रुपमा विकास भइरहेका छन् । आन्तरिक वा बाह्य पर्यटकहरूका लागि घुम्न होस् या हिमाल–पहाड छिचोल्न, पालिका स्तरमा खुलेका ग्रामीण सडक छोटा–छरिता साबित भएका छन् । तराई, पहाडका हुन् या छिमेकी देश भारतबाट आएका पर्यटकहरूलाई हिमाल–पहाडका भूदृश्य अवलोकनमा जान पहाडी सडकहरू निकै उपयोगी बनेका हुन् ।
विशेश गरी पाल्पा, गुल्मी, पोखरा, बाग्लुङ, बेनी र मुस्ताङतर्फ लाग्न यी सडकहरू सोझो र छोटो हुने पर्यटकहरूले बताउने गरेका छन् । गत साता बाँकेको रूपेडिया नाकाबाट नेपाल छिरेका भारतीय नागरिक अरविन्द मिश्रा मुस्ताङ घुम्ने हुटहुटीसँगै कोहलपुरबाट महेन्द्र राजमार्ग समातेर भालुवाङ हुँदै प्युठान पुगे ।
धार्मिक पर्यटनमा रुचि राख्ने उनी आफ्ना एक साथीसहित मोटरसाइकलको अनुमति लिएर नेपाल भ्रमणमा निस्किएका थिए । प्युठानबाट उनी छोटो बाटो भएर मुस्ताङ पुग्न चाहन्थे । साथै यस क्षेत्रमा रहेका विभिन्न मठ–मन्दिर र नाम चलेका पर्यटकीय क्षेत्र घुम्ने रहरले आफूले पहाडी छोटो बाटो रोजेको मिश्राले बताए ।
प्युठानको भिङ्ग्र्री, चकचके, बाग्दुला, खलंगा, सन्धिखर्क ग्रामीण सडक हुँदै बल्कोटबाट तम्घास पुगेर रेसुङ्गा मन्दिर घुमेको उनले जनाए । कतै गुगल म्याप हेर्दै त कतै होटल, रेस्टुरेन्टमा चिया नास्ता र खाना खाने निहुँमा छोटोछरितो बाटो सोध्दै गुल्मीको इस्मा आइपुगेको स्थानीयसँगको भेटमा उनले बताए ।
इस्माबाट इन्द्रेगौंडा, मुसिकोट हुँदै बडीगाड गाउँपालिकाको खरवाङबाट मध्यपहाडी लोकमार्ग समाएर गलकोट, बाग्लुङ काली, बेनी, गलेश्वर भई मुस्ताङतर्फ लाग्ने मार्गचित्र बनाएको मिश्राले सुनाए । मिश्राजस्तै स्वदेशी तथा आन्तरिक पर्यटक, गन्तव्यमा हिँड्ने मानिसहरूले पनि बुटवल, पाल्पा, रिडी, बुर्तिबाङ, ढोरपाटन, निसेल ढोर, पोखरा, बाग्लुङ, रूकुम पश्चिम, मिर्मी, जैमिनी, बाग्लुङ जान पहाडी मार्ग रोज्ने गरेका छन् ।
पर्यटकहरूले भौगोलिक अवस्थितिका कारण कतिपय ठाउँमा नेटवर्क हराउँदा गुगल म्यापले पनि काम नगर्ने हुँदा हरेक गाउँ या नगरले चोक–चोकमा मूल र सहायक सडक झल्किने बोर्ड, ऐतिहासिक स्थल तथा पहुँच मार्ग देखाउने संकेत राख्न सुझाएका छन् ।
अघिल्लो महिना गोर्खाको लाप्राकबाट महिला दिदीबहिनीको समूह ढोरपाटन पुग्यो । उनीहरूलाई गोर्खा जिल्लाका भित्री सडक, मध्यपहाडी मार्ग र बुर्तीबाङ ढोर सडकले निकै सहजता दिएको समूहकी एक सदस्यले बताइन् । अघि–अघि गोर्खाबाट आँबुखैरेनी, पोखरा, स्याङ्जा, पाल्पा, रिडी हुँदै बडिगाडको तिरैतिर ढोरपाटन पुग्न पथ्र्याे भने अहिले छोटो बाटो पोखरा, बाग्लुङ, गलकोट, बुर्तीबाङ हुँदै उनीहरु ढोरपाटन पुगेका हुन् ।
यस्तै तराईमा गर्मी बढेसँगै स्वदेशी तथा भारतीय पर्यटकहरू पहाडतर्फ आउने गरेको पाल्पा बगनासकालीका लीलामणि अधिकारीले बताए । अधिकारीका अनुसार गैंडाकोट, रिडी कालीगण्डकी करिडोर हुँदै हलुका सवारी तथा मोटरसाइकलमा सवार भारतीयहरू यहाँको रानीमहल, भैरवथान, तानसेनको श्रीनगर, बतासेडाँडामा आउने गरेका छन् । सीमानाका रक्सौल, त्रिवेणी, सुनौली हुँदै पाल्पा, रिडी, मिर्मी, सेतीवेणी, अमलटारी, सौराहा, पोखरा, घान्द्रुक, कुस्मा, बेनी हुँदै मुस्ताङको मुक्तिनाथतर्फ लाग्नेहरूमा भारतीय पर्यटक नै बढी देखिन्छन् ।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले विगत दुई दशकदेखि शुरू गरेको जाऊँ है पोखराजस्ता पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रमहरूले पछिल्लो समय पोखराका सबै होटलहरू दिनहुँ भरिभराउ हुने गरेको बताए ।
विभिन्न क्षेत्रमा हाइकिङ, ट्रेकिङ, साइक्लिङजस्ता पर्यटकीय गतिविधि बढ्दा स्थानीय होटल, लज, रेस्टुराँ, रिसोर्ट तथा घरबासहरूको दैनिक आम्दानीमा वृद्धि भएको व्यवसायीहरूको भनाइ छ । पूर्वी नवलपरासीको पहाडी क्षेत्र धौवादी, रुद्रपुर गढी, बोझापोखरी, बराल बेस र देवचुली डाँडा घुम्नेहरूको संख्या बाक्लो रहेको बुलिङ–४, पोखरीका लखन बराल मगरले बताए ।











प्रतिक्रिया